२ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

यूएस ओपन मिश्रित युगलमा एला र अगस्टर-अलियासिमलाई वाइल्ड कार्ड

फिलिपिन्सकी उदीयमान स्टार एलेक्स एला र फेलिक्स अगस्टर-अलियासिमसहित एलिना स्वितोलिना-गाएल मोन्फिसको जोडीले यूएस ओपनको मिश्रित युगल प्रतियोगितामा वाइल्ड कार्ड पाएका छन्।

दुईपटकका साविक विजेता सारा इरानी र एन्ड्रिया भाभासोरीको जोडीलाई पनि वाइल्ड कार्ड दिइएको छ। अमेरिकी टेनिस संघले सोमबार प्रतियोगिताका १६ मध्ये ११ जोडीको टुंगो लगाएको हो। त्यसमध्ये छ जोडी संयुक्त वरीयताका आधारमा छनोट भएका छन् भने पाँच जोडीले वाइल्ड कार्ड पाएका हुन्।

प्रतियोगितामा विश्व नम्बर एक आर्यना सबालेन्का र २४ पटकका पुरुष ग्रान्डस्लाम एकल विजेता नोभाक जोकोभिचको जोडी शीर्ष स्थानमा छ। सहभागीमध्ये उनीहरूको संयुक्त एकल वरीयता सबैभन्दा उत्कृष्ट छ।

प्रत्यक्ष छनोट हुने अन्य जोडीमा एलेना रिबाकिना–टेलर फ्रिट्ज, डायना स्नाइडर–डानिल मेदभेदेभ, इगा स्वियाटेक–कास्पर रुड, बेलिन्डा बेन्सिच–फ्लाभियो कोबोली तथा अमान्डा एनिसिमोभा–लर्नर टिन रहेका छन्।

यसैगरी लेयला फर्नान्डेज–फ्रान्सिस टियाफो र टेलर टाउनसेन्ड–अलेक्जान्डर ज्वेरेभले पनि वाइल्ड कार्ड पाएका छन्। प्रतियोगिताका अझै तीन वाइल्ड कार्ड घोषणा हुन बाँकी छन्।

यूएस ओपनको मिश्रित युगलको पहिलो चरण र क्वार्टरफाइनल अगस्ट २५ मा तथा सेमिफाइनल र फाइनल अगस्ट २६ मा हुनेछन्। सबै खेल आर्थर एस स्टेडियम वा लुइस आर्मस्ट्रङ स्टेडियममा आयोजना हुनेछन्।

प्रकाशित: २ भाद्र २०८३ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App