फिफा विश्वकप अन्तर्गत खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको डलासस्थित रंगशालामा सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई ४-२ को पेनाल्टी सुटआउट नतिजाले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। इजिप्टले खेलको १३औं मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो।
इजिप्टका मिडफिल्डर इमाम आशुरले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५५औँ मिनेटमा मोहम्मद हानीले गोल गरेपछि अस्ट्रेलियाले १-१ को बराबरी गोल बनायो।
त्यसपछिको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोलका थप प्रयासहरू भए पनि फिनिसिङ कमजोर हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलियो। पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर र पेनाल्टी प्रहारकर्ताहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ४-२ को जित दिलाए।
अस्ट्रेलियाको विश्वकप यात्रा यहीँ सकिएको छ। अब इजिप्टले क्वाटरफाइनल प्रवेशका लागि अन्तिम १६ को खेलमा अर्जेन्टिना र केप भर्डेबिच हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २० असार २०८३ ०६:४१ शनिबार





