राष्ट्रिय एन्टी डोपिङ अभिकरण (नाडा नेपाल) का संस्थापक डा. असीम भण्डारीले मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका खेल विज्ञानमा स्नातकोत्तर तहका विद्यार्थीमाझ एन्टी-डोपिङ सम्बन्धी एक गोष्ठी आयोजना गरेका छन्।
खेल व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित यस सत्रमा कार्यसम्पादन बढाउने औषधिविरुद्धको वैश्विक लडाइँसम्बन्धी जागरूकता बढाउन मुख्य रुपमा केन्द्रित गरिएको थियो ।
एसियाली पारालिम्पिक कमिटीको चिकित्सा तथा खेल विज्ञान कमिटीका सदस्य डा. भण्डारीले कार्यसम्पादन बढाउने औषधिविरुद्धको वैश्विक लडाइँ र मान्यता प्राप्त एन्टी-डोपिङका ११ वटा नियम उल्लंघन (एडिआरभी) लगायतका विषयमा प्रकाश पारेका थिए ।

उनले नेपालले अन्तर्राष्ट्रिय मानक विश्व एन्टी-डोपिङ संस्था (वाडा) को संहितालाई बेवास्ता गरे भविष्यमा सामना गर्न सक्ने जोखिमबारे पनि चेतावनी दिए ।
'स्वच्छ खेल अब वैकल्पिक होइन अनिवार्य छ। डोपिङमा ढिलाइले अन्तर्राष्ट्रिय इज्जतमाथि प्रभाव पार्छ । यसले केबल खेलाडीमात्र होइन, राष्ट्रको प्रतिष्ठालाई पनि जोखिममा पार्छ,' डा: भण्डारीले भने ।
प्रकाशित: १० भाद्र २०८२ १६:४३ मंगलबार

