सिनसिनाटी ओपनमा सर्बियाली स्टार नोभाक जोकोभिचको यात्रा दोस्रो चरणमै समाप्त भएको छ। २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिच शनिबार अर्जेन्टिनाका थियागो अगुस्टिन तिरान्तेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।
विश्व वरीयतामा ५०औँ स्थानमा रहेका २५ वर्षीय तिरान्तेले पाँचौँ वरीयताका जोकोभिचलाई २–६, ६–४, ६–४ को सेटमा पराजित गरे। खेल दुई घण्टा ४४ मिनेट सम्म चलेको थियो ।
३९ वर्षीय जोकोभिचले खेलका क्रममा शारीरिक रूपमा कठिनाइ भोगेको देखिएको थियो। सिनसिनाटीमा उनको लगातार १० खेलको जित यात्रा पनि तिरान्तेसँगको हारसँगै टुंगिएको छ। जोकोभिचले यस प्रतियोगिताको उपाधि सन् २०२० र २०२३ मा जितेका थिए।
जितपछि तिरान्तेले यो आफ्नो करियरकै सबैभन्दा ठूलो जित भएको बताए। उनले जोकोभिचजस्तो महान् खेलाडीविरुद्ध खेल्दा लागेको दबाब र तनावलाई राम्रोसँग नियन्त्रण गर्न सफल भएको प्रतिक्रिया दिए। अब जोकोभिचको ध्यान आगामी अमेरिकी खुला टेनिस प्रतियोगिता (यूएस ओपन) मा हुनेछ। यूएस ओपन आगामी अगस्ट ३० देखि सुरु हुँदैछ।
महिला स्पर्धामा एला र पेगुलाको जित
महिला एकलतर्फ फिलिपिन्सकी एलेक्जान्ड्रा एलाले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएकी छन्। उनले एलेना–गेब्रिएला रुसेविरुद्धको खेल जितिन्। रुसेले पहिलो सेट गुमाएपछि दोस्रो सेटमा खुट्टाको चोटका कारण खेल छाडेकी थिइन्।
विश्व वरीयतामा २०औँ स्थानमा रहेकी एलाले यसै महिनाको सुरुवातमा वासिङ्टनमा आफ्नो पहिलो डब्लूटीए एकल उपाधि जितेकी थिइन्। पछिल्ला नौ खेलमध्ये उनले आठ खेलमा जित हासिल गरेकी छिन्।
अमेरिकाकी जेसिका पेगुलाले पनि सिमोना वाल्टर्टलाई ६–३, ६–२ ले हराइन्। सन् २०२६ मा हार्ड कोर्टमा पेगुलाको जित–हारको रेकर्ड २५–६ पुगेको छ। विश्व वरीयतामा तेस्रो स्थानमा रहेकी पेगुलाले सन् २०२४ मा सिनसिनाटी ओपनको उपाधि जितेकी थिइन्।
प्रकाशित: ३१ श्रावण २०८३ ०७:५५ आइतबार





