२४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचले चाइना ओपनअघि आफ्नो शारीरिक अवस्था राम्रो रहेको बताएका छन्। पछिल्लो समय फिटनेस समस्याबाट गुज्रिएका जोकोभिचले बेइजिङमा पुनरागमन गर्दै आफ्नो लय फर्काउने लक्ष्य राखेका छन्।
६ पटक चाइना ओपनको उपाधि जितिसकेका जोकोभिचले सोमबार आफूले अभ्यासका क्रममा शरीरको प्रतिक्रियाबाट सन्तुष्ट रहेको बताए। उनी अगस्ट ३० मा युएस ओपनको पहिलो चरणमै मारियानो नाभोनेसँग पराजित भएयता पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा फर्किन लागेका हुन्।
नाभोनेसँगको खेलमा ३९ वर्षीय जोकोभिच काँध र ढाडको समस्याबाट प्रभावित भएका थिए। खेलकै क्रममा उनलाई वान्तासमेत भएको थियो। त्यसपछि उनले कुनै आधिकारिक प्रतियोगिता खेलेका छैनन्।
विश्व वरीयतामा ११औं स्थानमा रहेका जोकोभिचले चाइना ओपनको पहिलो खेलमा बुधबार पोर्चुगलका नुनो बोर्गेसको सामना गर्नेछन्।
जोकोभिचले अभ्यास र आधिकारिक खेल फरक हुने भए पनि अहिलेसम्म आफ्नो शरीर र खेलको अवस्था राम्रो रहेको बताए। चीनमा आफ्नो विगतको प्रदर्शनले आत्मविश्वाससमेत दिएको उनको भनाइ छ।
बेइजिङमा जोकोभिचको प्रदर्शन निकै प्रभावशाली छ। उनले सन् २००९, २०१०, २०१२, २०१३, २०१४ र २०१५ मा चाइना ओपनको उपाधि जितेका थिए। एटीपी ५०० प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगितामा उनको जित-हारको कीर्तिमान २९-० रहेको छ।
जोकोभिचले पछिल्ला वर्षमा आफ्नो खेल तालिका पनि सीमित गर्दै आएका छन्। करिअरको यस चरणमा आफूलाई मन पर्ने र विगतमा सफलता हासिल गरेका प्रतियोगितालाई प्राथमिकता दिने गरेको उनले बताए।
२४ ग्रान्डस्लाम जितिसकेका जोकोभिचको अबको प्रमुख लक्ष्य कीर्तिमानी २५औं ग्रान्डस्लाम उपाधि जित्नु रहेको छ। चीनमा भने उनले ११ वर्षपछि बेइजिङमा पुनरागमन गर्न लागेका हुन्।
जोकोभिचका अनुसार पछिल्ला वर्षमा आफ्नो तालिकाका कारण चीनमा मुख्यतः सांघाई प्रतियोगितामा मात्र सहभागी हुँदै आएका थिए। तर यसपटक बेइजिङलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
प्रकाशित: १४ आश्विन २०८३ १३:४८ बुधबार





