क्यामरुनका पूर्वफुटबल खेलाडी तथा क्यामरुन फुटबल महासंघका अध्यक्ष सामुएल एटो’ओमाथि लागेको कथित आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न एसोसिएसन अफ एमेच्योर फुटबल क्लब्स अफ क्यामरुन (एसीएफएसी)ले माग गरेको छ।
एटो’ओमाथि सन् २०२३ मा क्यामरुन र रुसबीच भएको मैत्रीपूर्ण खेलसँग सम्बन्धित रकम अनुचित रूपमा प्राप्त गरेको आरोप लागेको छ। एसीएफएसीका अनुसार रुसी फुटबल संघले क्यामरुन फुटबल महासंघको खातामा जम्मा हुनुपर्ने करिब ५ लाख ६७ हजार युरो अन्य बैंक खातामा पठाएको आरोप छ।
एसीएफएसीले एटो’ओविरुद्ध क्यामरुनको अदालतमा मुद्दा दायर गर्ने तथा रुसी फुटबल संघविरुद्ध रुसमै छुट्टै कानुनी उजुरी गर्ने तयारी गरेको जनाएको छ।
एटो’ओले भने आरोपबारे सार्वजनिक रूपमा दोष स्वीकार गरेका छैनन्। उनी गत महिना विवादमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोको समर्थनमा उभिएका थिए।
प्रकाशित: ३१ भाद्र २०८३ ११:४६ बुधबार





