गत सिजन एउटा यस्तो क्षण आएको थियो जहाँ रोबर्टो डे जर्बीले इङ्लिस प्रिमियर लिग क्लब टोटेनहमका आफ्ना खेलाडीतर्फ फर्केर सोधे, ‘के हामी मरेका थियौं र?’
उनको प्रशिक्षणमा पहिलो खेलमै सन्डरल्यान्डसँग १–० को हारपछि टोटेनहमको टिममा निकै निराशा थियो। सन्डरल्यान्डको घरेलु मैदान स्टेडियम अफ लाइटमा भएको त्यो हारपछि ड्रेसिङ रुममा खेलाडीहरू ढल्किएर बसिरहेका थिए। केही खेलाडी त हारको पीडाले रोए पनि। टोटेनहमको प्रिमियर लिग अस्तित्व जोगाउन डे जर्बीसँग सात खेल बाँकी थिए र त्यो हार ती सात खेलमध्ये पहिलो थियो। अन्ततः अन्तिम दिन मात्रै टोली रेलिगेसनबाट बच्न सफल भयो। उथलपुथलपूर्ण सिजन (२०२५–०२६) को अपमानजनक अवस्थाबाट क्लबलाई माथि उठाउन ४७ वर्षे प्रशिक्षक आफू सक्षम रहेको विश्वास गर्छन्। निराश ड्रेसिङ रुमबाट अहिले टोलीको अवस्था भने पूर्ण रूपमा फरक देखिन्छ। प्रिसिजन भ्रमणका क्रममा सिड्नीको होटलमा टोलीको माहोलले पनि त्यही संकेत गर्छ।
हार्बर ब्रिज र विश्वप्रसिद्ध ओपेरा हाउसबाट केही दूरीमै डे जर्बीका खेलाडीहरू हाँसिरहेका छन् र रमाइरहेका छन्। कफीको स्वाद उनीहरूले लिइरहेको देखिन्छ। क्लब रेकर्ड (२३७ मिलियन पाउन्ड) मा भित्र्याइएका नयाँ खेलाडी टोलीमा घुलमिल भइरहेका छन्। त्यहाँ प्रतिस्पर्धात्मक टेबल टेनिसका खेलहरू हुँदै थिए। सबैले टोटेनहमलाई फेरि इङ्लिस फुटबलको माथिल्लो स्तरमा पुर्याउने र उपाधिका लागि चुनौती दिने सपना देखिरहेका छन्।
क्लब रेकर्ड रकममा अनुबन्धित सान्ड्रो टोनालीसँगै मातेउस फर्नान्डेस, जान पाउल भान हेके, एन्ड्य्रु रोबर्टसन र मार्टिन डुब्राभ्काले स्पर्स उपनामले पनि परिचित टोटेनहमको प्रिसिजन भ्रमणमा खेलिसकेका छन्। फिफा विश्वकप फाइनल खेलेका अर्जेन्टिनाका मार्कोस सेनेसी भने बिदामा थिए। त्यसैले उनी अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा सहभागी भएनन्।
‘म उत्कृष्ट खेलाडी चाहना गर्न योग्य छु। किनभने अहिले टोटेनहम पनि उत्कृष्ट टोली निर्माण गर्न योग्य क्लब बनेको छ,’डे जर्बीले भने।
असामान्य स्थितिमा क्लबले दुई फरक स्थानान्तरण (ट्रान्सफर मार्केट) योजना तयार पारेको थियो। एक रेलिगेसन भएमा लागू हुने र अर्को प्रिमियर लिगमै रहे गरिने योजना हो। रेलिगेसन परे स्पर्समै प्रशिक्षकका रूपमा रहने डे जर्बीले बताएका थिए। उनी अहिले ‘प्लान ए’ अनुसार काम गरिरहेकोमा खुसी छन्। कप्तान क्रिस्टियन रोमेरो र गोलकिपर गुग्लिएल्मो भिकारियोको क्लब छाड्ने इच्छालाई पनि क्लबले सम्मान गर्यो। ‘क्लबमा आएपछि उनीहरूसँग धेरैपल्ट कुरा गरेँ। उनीहरूले क्लबमा बस्न नचाहेको बताए। टोलीलाई प्रिमियर लिगमा बचाउन सहयोग गर, त्यसपछि तिमीहरूलाई जान सहयोग गर्छु भनेँ,’ जर्बीले भने,‘सहयोग गरेनौ भने, तिमीहरू पनि मसँगै डुब्नेछौ भनेको थिएँ।’
सन्डरल्यान्डसँग हारपछि कोचिङ स्टाफमा पनि निराशा र नकारात्मक सोच फैलिएको थियो। ‘त्यो हारपछि भोलिपल्ट खेलाडीबिना बैठक बोलाएँ। अबदेखि नकारात्मक कुरा गरेमा घर पठाइदिन्छु भनेँ,’उ नले खुलासा गरे।
अहिले उनको मुख्य उद्देश्य गत सिजनको पीडाबाट गुज्रिएका खेलाडी र कर्मचारीहरूको व्यवहार, सोच र टोलीको भावना परिवर्तन गर्नु हो। यसअघि एन्जे पोस्टेकोग्लुको प्रशिक्षणमा युरोपा लिग जिते पनि टोटेनहम प्रिमियर लिगमा १७औं स्थानमा रह्यो। त्यसपछिको सिजन पनि टोली रेलिगेसनको डर झेल्दै अन्ततः १७औं स्थानमै सीमित भयो।
गत सिजनका अन्तिम चरणका खेलहरूमा टोटेनहम दुर्भाग्यशाली रह्यो र टोलीले धेरै पहिले नै प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने उनको विश्वास थियो। ‘त्यो समयमा खेलाडीले आफूलाई कमजोर ठाने,’ डे जर्बीले भने,‘घाउ निको हुने प्रक्रिया अझै जारी छ।’
‘ट्रान्सफर मार्केटमा सार्कजस्तो’
गत १२ महिनामा टोटेनहम हटस्परमा व्यापक परिवर्तन छ। समर्थकहरूको असन्तुष्टिबीच क्लबको नेतृत्व लुइस परिवार ट्रस्टको तर्फबाट नयाँ प्रमुख कार्यकारी अधिकृत भिनाइ भेन्कटेसमले सम्हालेका छन्।
भेन्कटेसमले प्राविधिक निर्देशक जोहान लाङेसँग मिलेर खेलाडी भिœयाउने वार्ताको नेतृत्व गरे। अघिल्लो व्यवस्थापन टोलीबाट वरिष्ठ तहको पदमा कायम रहने लाङे मात्रै हुन्। फुटबल अपरेसन निर्देशक राफी मोएर्सेन र नयाँ प्रदर्शन निर्देशक ड्यान लेविन्डनको साथ उनीहरूलाई रह्यो। दुवै जना म्यानचेस्टर सिटीको मातृसंस्था सिटी फुटबल ग्रुपबाट टोटेनहम आएका हुन्।
लेविन्डनलाई विशेष गरी टोलीमा चोटग्रस्त खेलाडीको संख्या घटाउने जिम्मेवारी दिइएको छ। यद्यपि जर्बी क्लबका हरेक क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न छन्। ‘ट्रान्सफर बजारमा कुनै खेलाडी चाहेको खण्डमा म शार्कजस्तै बन्छु। त्यसपछि ‘होइन’ भन्ने कुनै सम्भावना हुँदैन,’ उनले भने। यही शैलीले वेस्ट ह्यामबाट ८५ मिलियन पाउन्डमा फर्नान्डेस र न्युक्यासलबाट १०० मिलियन पाउन्डमा टोनालीलाई क्लबमा ल्याउन सहयोग गर्यो।
‘मलाई ट्रान्सफर बजारमा काम गर्न अत्यन्तै मन पर्छ। यो मेरो लागि दबाब होइन। मेरो कामको सबैभन्दा रमाइलो पक्षमध्ये एक हो,’ डे जर्बी भन्छन्।
फर्नान्डेसलाई अनुबन्ध गर्नुअघि उनले खेलाडीका बुबा र आमासँग पनि कुरा गरेका थिए। टोटेनहमले चेल्सीको चासोका बावजुद डिफेन्डर भान हेक्केलाई पनि अनुबन्धित गर्न सफल भयो। यसअघि क्लबले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै दुई कीर्तिमानी मूल्यका मिडफिल्डर भित्र्याइसकेको थियो। ट्रान्सफर बजारलाई धेरैले रणनीति र मनोवैज्ञानिक खेलको रूपमा हेर्छन्। यसमा सुरुदेखि नै टोटेनहमले आक्रामक र तीव्र रूपमा काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो। ठूलो ट्रान्सफर शुल्क, आकर्षक तलब प्रस्ताव र खेलाडीलाई मनाउन डे जर्बीको व्यक्तिगत सक्रियता महत्वपूर्ण रह्यो।
गत अप्रिलमा ब्राइटनसँग २–२ को बराबरीपछि डे जर्बीले एउटा रोचक घटना सुनाएका थिए। उक्त खेलमा जर्जिनियो रुटरले ९५औं मिनेटमा गोल गर्दै टोटेनहमको रेलिगेसनबाट बच्ने आशामा धक्का दिएका थिए, जसको असिस्ट भान हेक्केले गरेका थिए। त्यसपछि डे जर्बीले भान हेक्केलाई सन्देश पठाएका रहेछन्। ‘तिमीले रुटरलाई असिस्ट गरेर टोटेनहमलाई तल धकेल्न खोज्यौ। अब तिमी मेरै टोलीमा आउनुपर्छ र अर्को विकल्प छैन,’ डे जर्बीले आफूले पठाएको सन्देश सम्झिए। टोनालीको अनुबन्धनका लागि पनि उनले विशेष भूमिका खेले। टोटेनहमले अन्तिम खेलमा एभर्टनलाई हराएर प्रिमियर लिगमा स्थान सुरक्षित गरेको भोलिपल्ट उनले टोनालीलाई सन्देश पठाए। इटालीको ब्रेसियास्थित उनको घरमै पुगेर भेट गरे र जुन अन्ततः निर्णायक वार्ता साबित भयो।
डे जर्बी अहिले पनि समर्थकलाई नयाँ ‘बोम्बा’ अर्थात् ठूलो अनुबन्धनको संकेत दिइरहेका छन्। टोटेनहमले थप दुई फरवार्ड भित्र्याउने तयारी गरिरहेको छ। त्यसमा सिटीका साभिन्होलाई अनुबन्धित गर्ने प्रयास छ। टोटेनहमले गैरजिम्मेवार ढंगले खर्च गरिरहेको भन्नु गलत हुने डे जर्बीको बुझाइ छ।
प्रकाशित: २१ श्रावण २०८३ ०७:३५ बिहीबार





