७ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अनुबन्ध गरेको हो। उनी एनपिएलको इतिहासमा सहभागीमध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन्।

‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं। जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो। यसपटक डेविड मिलर, पाकिस्तानका टी–२० टिमका कप्तान साहिवजादा फर्हान र हुसैन तलातलाई अनुबन्ध गरेका छौं। यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपिएल देखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु।’

कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको पनि बताए। ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो। सोहीअनुसार हामीले डेविड मिलर, फर्हान र तलात जस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौं,’ उनले भने।

अध्यक्ष घिमिरेले यसपटक उपाधि जित्ने लक्ष्यसहित योजना बनाइरहेको बताएका छन्। उनले भने, ‘हामीले अहिलेसम्म प्लेअफ खेलेका छौं। यसपटक उपाधि जित्ने लक्ष्यसहित विश्व चर्चित खेलाडी अनुबन्ध गरेका छौं। हाम्रो ध्यान उपाधि मै केन्द्रित हुनेछ।’

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन्। भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन्। उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए। मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२०  आईमा दुई हजार ८०४ रन बनाएका छन्। यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए।  

डेविड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौ विदेशी हुन्। यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेटका कप्तान साहिवजादा फर्हानसँगै पाकिस्तानकै चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो। त्यसबाहेक टिमले दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट, अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरेको छ।  

यस्तै, घरेलु खेलाडीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरिसकेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App