९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

इन्धनको मूल्य बढेकाले खाली स्टेडियममा क्रिकेट

इन्धनको मूल्य बढेकाले पाकिस्तान टी ट्वान्टी प्रिमियर लिग (पिसिएल) खाली स्टेडियममा आयोजना गरिने भएको छ।

पाकिस्तान सुपर लिग (पिसिएल) को यस संस्करण ६ वटा सहरमा आयोजना हुने तयारीमा थियो तर अब लाहोर र कराचीमा मात्र खेल आयोजना हुने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का शीर्ष अधिकारीले जानकारी दिएका छन्। पिसिएलको उद्घाटन आगामी बिहीबार गद्दाफी स्टेडियममा आयोजना हुनेछ। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पाकिस्तानमा इन्धनको मूल्य अकासिँदै छ। मध्यपूर्वी क्षेत्रमा फैलिएको द्वन्द्वका कारण इन्धन मूल्य थप बढ्न सक्ने अनुमान छ। इन्धनको मूल्य बढेसँगै पाकिस्तान सरकारले आफ्ना नागरिकलाई आवतजावत सीमित गर्न आग्रह गरेको छ। पिसिबीका अध्यक्ष मोहसिन नक्भीले यो युद्ध कति समयसम्म चल्छ भन्ने यकिन नभएको उल्लेख गरेका छन्।

‘हामी जनतालाई आवतजावत सीमित गर्न भनिरहेका छौं। अनि त्यही समयमा हरेक दिन ३० हजार दर्शकलाई रंगशालामा आउन् भन्न सक्दैनौं। त्यसैले हामीले इन्धन संकट जारी रहुन्जेल दर्शकविहीन खेल गराउने निर्णय गरेका छौं। जुन हाम्रा लागि कठिन निर्णय हो तर आवश्यक थियो। उद्घाटन समारोह पनि रद्द गरिनेछ,’ उनले भनेका छन्।

नक्भीले बिक्री भएका सबै टिकटको रकम ७२ घण्टाभित्र पिसिबीले फिर्ता गर्ने र गेट आम्दानीबाट हुने घाटाको क्षतिपूर्ति फ्रेन्चाइज मालिकहरूलाई दिने जानकारी दिए। नक्भीले रावलपिन्डी, फैसलाबाद, मुल्तान र पेसावर गरी यी चार सहरका समर्थकसँग माफी पनि मागेका छन्, जहाँ यस सिजन पिएसएलका खेलहरू आयोजना नहुनेछन्।

‘हामीले आवतजावत सीमित गर्नुपर्ने अवस्था छ। हाम्रा स्रोतहरूको धेरै प्रयोग गर्न चाहँदैनौं, ’उनले भने, ‘विशेष गरी पेसावरसँग माफी चाहन्छु, जहाँ पहिलो पटक पिएसएल खेल हुने तयारी थियो तर दर्शक नै नहुने भएपछि त्यहाँ जानुको कुनै अर्थ थिएन।’

नक्भीले यो निर्णय लिनुअघि पाकिस्तानका प्रधानमन्त्री तथा पिसिबीका संरक्षक सेहबाज सरिफले आठवटै फ्रेन्चाइजसँग परामर्श गरेको बताए। त्यो छलफलमा खेल हुने मैदानको संख्या घटाइएको र खाली मैदानमा आयोजना गर्ने निर्णय भएको थियो। केही विदेशी खेलाडीहरूले व्यक्तिगत कारण देखाउँदै पनि पिएसएलबाट नाम फिर्ता लिएका छन्। नाम फिर्ता लिनेमा अस्ट्रेलियाका ज्याक फ्रेजर म्याकगर्क र स्पेन्सर जोनसन, दक्षिण अफ्रिकाका ओटनिल बार्टम्यान र वेस्ट इन्डिजका गुडाकेश मोती छन्।  

प्रकाशित: ९ चैत्र २०८२ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App