६ पल्ट विश्वको उत्कृष्ट खेलाडी घोषित मार्ताले शनिबार बेन्चबाट आएर अन्तिम समयमा दुई गोल गर्दा ब्राजिलले नवौंपल्ट कोपा अमेरिका फेमिनिनाको उपाधि उचालेको छ।
ब्राजिलले कोपा अमेरिका फेमिनिनाको फाइनलमा कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि उचाल्दा मार्ताको प्रदर्शन यादगार बन्यो। तीन पल्टसम्म पुनरागमन गरेको ब्राजिलकी मार्ताले अन्तिम समयमै दुई गोल गरेकी थिइन्। ३९ वर्षीया मार्ताले ८२औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।
अन्तिम समयको छैटौं मिनेटमा उनले गोल गर्दै ब्राजिललाई ३–३ को बराबरीमा ल्याइन्। अतिरिक्त समयमा नै मार्ताले अर्को गोल गरेपछि ब्राजिलले उपाधि भिडन्तमा पहिलोपल्ट अग्रता लियो। तर, लेइसी सान्तोसले ११५औं मिनेटमा गोल गर्दै कोलम्बियालाई ४–४ को बराबरीमा ल्याएकी थिइन्। अतिरिक्त समयमा पनि निर्णय आएन र फाइनल पेनाल्टी सुटआउटमा पुग्यो।
ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भा पेनाल्टी सुटआउटमा नायक बनिन्। कोलम्बियाका दुई प्रहार रोक्दै उनले लगातार पाँचौंपल्ट ब्राजिललाई महादेशीय प्रतिस्पर्धा कोपा अमेरिकाको उपाधि दिलाइन्। कोलम्बियाले भने यसअघिका पाँच फाइनलमध्ये चौथो पटक हार सामना गर्नुपर्यो। ब्राजिलियन लिजेन्ड मार्ताले समान ६ पल्ट विश्वकप र ओलम्पिक खेलिसकेकी छन्।

ब्राजिलको जर्सीमा मार्ताले दुई सय ६ खेलबाट एक सय २२ गोल गरिसकेकी छिन्। गत वर्ष पेरिस ओलम्पिकको फाइनलमा पराजित भएपछि अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिएकी मार्ताले अर्को इतिहास लेखिन्। तर, गत मेमा उनी संन्यासको निर्णयबाट फर्किइन् र आफ्ना लागि चौथो कोपा अमेरिका उपाधिमा होमिएकी हुन्।
ब्राजिलियन टोलीका प्रशिक्षक अर्थर इलियासले मेमा मैत्रीपूर्ण खेलअगाडि नै ३९ वर्षीया मार्तालाई टोलीमा समावेश गरेका थिए। अधिकांश खेलमा उनले सुरुआती अवसर पाइनन्।
फाइनलमा पनि उनी ब्राजिलको पहिलो ११ को रोजाइमा थिइनन्। तर, खेल सकिन अन्तिम आठ मिनेट बाँकी छँदा मैदान प्रवेश गरेकी मार्ताले आफ्नो पुनरागमनलाई सार्थक बनाइन्। उनले इन्जुरी समयमा गोल गरेपछि ब्राजिलले हारको संकट टारेको थियो। थप गरिएको समयमा पनि उनले अर्को गोल गरिन्। तब मात्र ब्राजिलले खेललाई पेनाल्टी सुटआउटसम्म धकेल्न सफल भयो। पेनाल्टी सुटआउटमा भने उनको प्रहार कोलम्बियाकी गोलकिपर क्याथरिन टापियाले रोकिन्।
‘महिला फुटबलमा धेरै विकास भइरहेको छ। अहिले प्रतियोगिताहरू धेरै प्रतिस्पर्धात्मक हुन थालेका छन्। सबै जना यस्तै खेल हेर्न आएका हुन्। यस किसिमको प्रदर्शनका लागि कोलम्बियालाई बधाई दिन चाहन्छु।
ब्राजिलले पनि सहजै हार मान्नु हुँदैन भन्ने मानसिकताका साथ खेलेको थियो। हरेक ब्राजिलियनका लागि यो खुसीको क्षण हो,’ ब्राजिलकी गुइटिरेसले भनिन्। ब्राजिललाई लगातार पाँचौं सफलता दिलाउन फाइनलमा एन्जेलिना एलोन्सो र अमान्डा गुएटिरेसले पनि गोल गरे। एन्जेलिनाले ४५औं मिनेटमा र अमान्डाले ८०औं मिनेटमा गोल गरेकका थिए।
पेरिस ओलम्पिकको फाइनलमा अमेरिकासँग पराजित हुँदा ब्राजिली टोली रजत पदकमै सीमित भएको थियो। यसपल्ट फाइनलमा हारको संघारबाट ब्राजिलले उत्कृष्ट पुनरागमन गर्यो। यस कोपा अमेरिकामा ब्राजिलकी गुटिरेस पाराग्वेकी क्लाउडिया मार्टिनेजसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता (६ गोल) भए।
फाइनलमा कोलम्बियाका लागि २५औं मिनेटमा लिन्डा काइसेडो, ८८औं मिनेटमा मायरा रामिरेज र लेइसी सान्तोसले अन्तिम समयमा गोल गरेका थिए। ६९औं मिनेटमा ब्राजिलकी डिफेन्डर टार्सियानको ओनबाट कोलम्बियाले आत्मघाती गोल उपहार पनि पाएको थियो। तर, निकै रोमाञ्चक फाइनलमा ब्राजिल तीन पटकसम्म पछि परे पनि बराबरी गर्न सफल भयो।
ब्राजिलको महिला टोलीले कोपा अमेरिकाको १० संस्करणमध्ये ९ पल्ट उपाधि जितिसकेको छ र दक्षिण अमेरिकाको उत्कृष्ट टोलीका रूपमा स्थापित छ। कोपा अमेरिकाको फाइनलमा एक मात्र हार ब्राजिलले सन् २००६ मा अर्जेन्टिनासँग बेहोरेको हो। तर, विश्वकपमा भने ब्राजिलले उपाधि जित्न सकेको छैन। विश्वकपमा ब्राजिलको उत्कृष्ट प्रदर्शन २००७ मा उपविजेता हो। साथै ओलम्पिकमा तीनपल्ट फाइनलमा पुगे पनि ब्राजिल उपाधि जित्न असफल रहँदै आएको छ।
प्रकाशित: १९ श्रावण २०८२ ०८:०२ सोमबार


-600x400.jpg)


