नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले सक्रिय राजनीतिमा संलग्न व्यक्तिलाई रेडक्रसको सदस्यता तथा नेतृत्वमा स्थान नदिने नीति सार्वजनिक गरेपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ।
नवनियुक्त जिल्ला सभापति रामेश्वर थापाले पदभार ग्रहण गर्दै रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले अबदेखि विशुद्ध समाजसेवामा समर्पित र कुनै राजनीतिक दलको सदस्यता नलिएका व्यक्तिका लागि सदस्यता खुला गरिने बताए।
‘यसअघि सदस्य बन्न राजनीतिक पहुँच वा दलगत सिफारिस आवश्यक पर्ने अवस्था थियो। अब रेडक्रसमा राजनीति हुन दिइँदैन,’ उनले भने। उनका अनुसार स्वतन्त्र नागरिकका लागि शाखा कार्यालयमै खुला सदस्यता डेस्क सञ्चालन गरिनेछ।
रेडक्रसका जानकारहरूका अनुसार विगतमा सदस्यता वितरण र नेतृत्व चयनमा राजनीतिक प्रभाव देखिने गरेको थियो, जसका कारण संस्थाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको थियो।
थापाले नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन–२०८२) को दफा ७२(३) अनुसार राजनीतिक दल वा भ्रातृ संगठनका पदाधिकारी तथा राजनीतिक दलबाट राज्यका शासकीय संरचनामा रहेका व्यक्तिहरू रेडक्रसका कुनै पनि तहका समिति, आयोग वा उपसमितिमा सदस्य वा पदाधिकारी बन्न नपाउने व्यवस्था रहेको बताए। दोहोरो भूमिकामा रहेका व्यक्तिलाई रेडक्रसबाट अलग हुन पनि आग्रह गरिएको उनले जानकारी दिए।
रेडक्रसका सात आधारभूत सिद्धान्त—मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छिक सेवा, एकता र विश्वव्यापिता—प्रति प्रतिबद्ध जोसुकै नेपाली नागरिकले निर्धारित प्रक्रिया पूरा गरेर सदस्यता लिन सक्ने व्यवस्था रहेको पनि उनले स्पष्ट पारे।
निर्णयपछि मिश्रित प्रतिक्रिया
भक्तपुर शाखाको घोषणापछि सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले निर्णयको स्वागत गर्दै रेडक्रसको तटस्थता कायम गर्न आवश्यक कदम भनेका छन् भने केहीले मनोनित पदाधिकारीहरूको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि शाखाका पूर्वसभापति बाबुकाजी श्रेष्ठले रेडक्रसमा झन् ठूलो राजनीति सुरु भएको टिप्पणी गरेका छन्। उनले रेडक्रसजस्तो मानवीय संस्थालाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यता मानवीय सेवाका क्षेत्रमा कार्यरत व्यक्तिहरू भने यो व्यवस्थाले रेडक्रसप्रति सर्वसाधारणको विश्वास अझ बलियो हुने अपेक्षा व्यक्त गर्छन्। उनीहरूका अनुसार विपद् व्यवस्थापन, रक्तसञ्चार, उद्धार, राहत र स्वास्थ्य सेवामा सक्रिय रेडक्रसको नेतृत्व राजनीतिक प्रभावभन्दा माथि रहनु आवश्यक छ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा यसअघिको सम्पूर्ण पदाधिकारी समिति विघटन गरी केन्द्रले रामेश्वर थापाको नेतृत्वमा नयाँ समिति मनोनयन गरेको छ। नवनियुक्त पदाधिकारीहरूको पदस्थापन तथा शपथग्रहण कार्यक्रम बिहीबार भक्तपुरमा सम्पन्न भएको थियो।
प्रकाशित: १४ श्रावण २०८३ १९:५५ बिहीबार





