६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

हराउँदै फापर, चिनो, कागुनो र कोदो

पातारासी गाउँपालिका-६ घोडेसिनकी ६४ वर्षीया चुक्की महताराले जीवनभर खेतमा चिनो, कागुनो, फापर र तिलखुरो फलाउँदै आएकी छन्। 

चन्दननाथ नगरपालिका-८ की ६७ वर्षीया प्याउरी थापाको खेतमा पुग्दा रैथाने बालीको ओरालो यात्रा प्रस्ट देखिन्छ। दुई दशकअघि एउटै वर्ष आठ क्विन्टलसम्म चिनो फलाउने उनको खेतमा अहिले मुस्किलले २५ देखि ३० किलो उत्पादन हुन्छ। ‘पहिले चिनोकै भात खाने चलन थियो’, थापा भन्छिन्, ‘आयातित चामल आएपछि सबैले चिनो खानै छाडे, खेती पनि गर्न छाडे।’ अहिले उनले चिनो व्यापारका लागि होइन, पुरानो बीउ जोगाउनका लागि मात्र लगाउँछिन्। 

गाउँमा चामल सहज हुन थालेपछि स्थानीय अन्नप्रतिको निर्भरता घट्दै गयो। त्यससँगै रैथाने अन्न खाने मानिसलाई हेप्ने सामाजिक मनोविज्ञान पनि विकास भयो। ‘१०–११ वर्षअघि भात खानेहरूको सानै बेग्लै हुन्थ्यो’, थापा भन्छिन्, ‘चामल पाइन थालेपछि धेरैले यस्ता बाली लगाउनै छाडे।’ उनका अनुसार अहिले कागुनो र फापरसमेत पाउन मुस्किल छ।

अर्की स्थानीय सरिता चैलागाईं पनि यही अवस्था सुनाउँछिन्। ‘हिजोआज घर–घरमा मसिनो चामल पुगेको छ। चिनो, कोदो, फापर र कागुनो खाने दिन त गइसकेजस्तो लाग्छ’, उनी भन्छिन्, ‘हाम्रोतिर त बीउ खोजे पनि पाइँदैन।’ त्यस्तै ७३ वर्षीया रमा उपाध्यायलाई भने खेती हराउनु मात्र होइन, रैथाने बालीको नाम नै नयाँ पुस्ताबाट हराउने चिन्ता छ। ‘यस्ता बालीको खेतीपाती त अचेल कसले गर्छ र?’, उनी भन्छिन्, ‘सायद धेरैले नामैसमेत बिर्सिसकेका होलान्।’

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा रैथाने बालीको खेती पूर्णरूपमा हराइसकेको देखिँदैन, तर किसानका अनुभवले यसको अर्को तस्बिर देखाउँछन्, खेतीको निरन्तरता कमजोर छ, बिउ जोगाउने किसान घटेका छन् र बजारको सुनिश्चितता छैन। आर्थिक वर्ष २०८०/८१ मा जुम्लामा २ सय हेक्टरमा चिनो खेती भएको र २ सय ५० मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्यांक छ। कागुनो १३ हेक्टरमा खेती हुँदा १३ मेट्रिक टन उत्पादन भएको छ। कोदो ३ हजार हेक्टरमा खेती हुँदा ४ हजार ५० मेट्रिक टन र फापर ८७ हेक्टरमा खेती हुँदा ९६ मेट्रिक टन उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/७९ मा चिनो ५० हेक्टरमा खेती हुँदा ६५ मेट्रिक टन उत्पादन भएको थियो। कागुनो १५ हेक्टरमा १५ मेट्रिक टन र फापर ९० हेक्टरमा ९९ मेट्रिक टन उत्पादन भएको थियो।

क्षेत्रफल र उत्पादनको तथ्यांक वर्षअनुसार घटबढ भए पनि वास्तविक संकट अंकमा मात्रै देखिँदैन। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारी रैथाने बालीलाई बदलिँदो जलवायुको अवस्थामा अझ महत्वपूर्ण मान्छन्। ‘परिवर्तन हुँदै गएको जलवायुमा अनुकूलन हुन सक्ने क्षमता उन्नत जातको भन्दा रैथाने बालीमा बढी हुन्छ’, अधिकारी भन्छन्। 

रैथाने बालीको अर्को बलियो पक्ष किसानको बिउमा रहेको आत्मनिर्भरता हो। हाइब्रिड तथा उन्नत जातका बिउका लागि बाह्य स्रोतमा निर्भर हुनुपर्ने भए पनि स्थानीय बालीको बिउ किसान आफैंले उत्पादन र संरक्षण गर्न सक्छन्। ‘उन्नत र हाइब्रिड बिउ उत्पादन गर्न सबैले सक्दैनन्, तर रैथाने बालीको बिउ सामान्य किसानले पनि सजिलै उत्पादन गर्न सक्छन्’, अधिकारी भन्छन्। उनका अनुसार तत्काल विशेष संरक्षित क्षेत्र घोषणा गरेर रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ।

प्रकाशित: ६ आश्विन २०८३ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App