आफ्नो उत्कृष्ट लयलाई स्टार किलियन एमबाप्पेले निरन्तरता दिँदा फ्रान्सले स्विडेनमाथि सहज जितसँगै विश्वकप २०२६ को उपाधि दाबेदारीमा थप एक कदम अगाडि बढाएको छ।
न्युयोर्कमा मंगलबार राति भएको अन्तिम ३२ चरणको खेलमा फ्रान्सले युरोपेली प्रतिद्वन्द्वी स्विडेनमाथि ३–० को जित रच्दा एमबाप्पे दुई गोल गर्दै चम्किए। यसै दिन नर्वे र सहआयोजक मेक्सिकोले पनि पहिलो नकआउट खेलमा जित रच्दै अर्को चरणको यात्रा तय गरेका छन्।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा दुई गोलसँगै एमबाप्पको यस विश्वकपमा गोलसंख्या ६ पुगेको छ। यससँगै उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बने। साथै विश्वकपमा १८ खेलबाट उनको गोलसंख्या १८ पुगेको छ। विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने मेसी (१९ गोल) को कीर्तिमानभन्दा एक गोलले मात्र एमबाप्पे पछाडि छन्।
फ्रान्सका लागि अर्को गोल ब्राड्ली बार्कोलाले गरे। फ्रान्सले फेरि एकपटक आकर्षक र आक्राममक खेल प्रस्तुत गर्दै उपाधिको बलियो दाबेदार भएको प्रमाणित गर्यो। पहिलो हाफभर स्विडेनले फ्रान्सलाई रोक्ने प्रयास गरे पनि सफल भएन। एमबाप्पेले व्यक्तिगत कौशल प्रदर्शन गर्दै रक्षापंक्ति छलेर शक्तिशाली प्रहारमार्पmत टोलीलाई अग्रता दिलाए। ५३औं मिनेटमा बार्कोलाले अग्रता दोब्बर बनाए भने ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित रच्यो। फ्रान्सले शनिबार फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा पाराग्वेको सामना गर्नेछ। पाराग्वेले जर्मनीलाई स्तब्ध बनाएको थियो। खेलपछि एम्बाप्पेले भने ‘म आफू को हुँ र मैले के गर्नुपर्छ भन्ने मलाई थाहा छ। तर यो मेरो मात्र जिम्मेवारी होइन। टोलीका सबै खेलाडी यहाँ के हासिल गर्नुपर्छ भन्नेमा स्पष्ट छन्।
हालान्डको निर्णायक गोल
अन्तिम समयमा म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डको गोल निर्णायक भएपछि नर्वेले आइभोरी कोस्टमाथि २–१ को रच्यो। जुन विश्वकपको इतिहासमा नर्वेको नकआउट चरणमा पहिलो जित थियो। टेक्सासको अर्लिङ्टनस्थित एटी एन्ड टी स्टेडियममा एन्टोनियो नुसाले नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। आइभोरी कोस्टका अमाद डियालोले बराबरी गोल फर्काए। खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिन्थ्यो। तर, ८६औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अर्को चरणमा पुर्याए। यसअघि सन् १९३८ र १९९८ मा खेलेका आफ्ना दुवै पहिलो नकआउट खेलमा पराजित भएको नर्वेले यसपटक इतिहास बदल्यो। अब नर्वेले आइतबार हुने अन्तिम १६ को खेलमा ब्राजिलसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
हालान्डको जारी विश्वकपमा गोलसंख्या पाँच पुग्यो। संयुक्त रूपमा शीर्ष गोलकर्ता मेसी र एम्बाप्पेभन्दा उनी एक गोलले मात्र पछि छन्। इन्जुरी समयमा आइभोरी कोस्टले बराबरी गर्ने सुनौलो अवसर पाएको थियो। अमादको घुमाउरो फ्रिकिक माथिल्लो कर्नरतर्फ जाँदै थियो तर नर्वेका गोलकिपर ओर्यान न्यालान्डले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुरक्षित राखे। खेलपछि नर्वेका मुख्य प्रशिक्षक स्टोले सोलबाक्केनले हालान्डको खुलेर प्रशंसा गरे। ‘तीन खेलमै विश्वकपमा पाँच गोल गर्नु र त्यो पनि नर्वेजस्तो सानो देशका लागि अविश्वसनीय उपलब्धि हो। म उनलाई कसैसँग पनि साट्न चाहन्नँ। किनकि अहिलेको फुटबलमा उनी संसारकै उत्कृष्ट गोलकर्ता हुन्,’ उनले भने।
आफ्नै मैदानमा अपराजित मेक्सिको
सहआयोजक मेक्सिकोले घरेलु भूमि मेक्सिको सिटीको प्रतिष्ठित एस्टाडियो एज्टेकामा आफ्नो अपराजित विश्वकप यात्रालाई कायम राख्दै इक्वेडरलाई २–० ले पराजित गर्यो। मुसलधारे वर्षा र चट्यााङका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको थियो। खेल सुरु भएपछि भने मेक्सिकोले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्यो। २२औं मिनेटमा जुलियन क्विनोनेसले आकर्षक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ३१औं मिनेटमा वुल्भरह्याम्प्टन वान्डरर्सका स्ट्राइकर राउल जिमिनेजले उत्कृष्ट प्रहारमार्फत दोस्रो गोल थपे। दुई गोलले पछि परेको इक्वेडरले खेलमा फर्किने कुनै प्रभावशाली अवसर सिर्जना गर्न सकेन। यस जितसँगै मेक्सिको एस्टाडियो एज्टेकामै हुने अन्तिम १६ को खेल खेल्नेछ। त्यस खेलमा उसले बुधबार एटलान्टामा हुने प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इङ्ल्यान्डबीचको अन्तिम ३२ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोका मुख्य प्रशिक्षक हाभियर अगिरेले आफ्नो टोलीलाई साँचो परिवारको संज्ञा दिए। ‘यो टोली अहिले प्राप्त गरिरहेको सफलताको पूर्ण हकदार छ। समर्थकसँगको सम्बन्ध र विश्वकपमा खेल्ने अवसर दुवै विशेष छन्,’ उनले भने।
नेदरल्यान्ड्सका प्रशिक्षकले दिए राजीनामा
यता मैदानबाहिर नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोइमेनले पदबाट राजीनामा दिएका छन्। मोरक्कोसँग अन्तिम १६ मा पेनाल्टी सुटआउटमा पीडादायी हार बेहोरेको एक दिनपछि उनले पद छाड्ने घोषणा गरेका हुन्।
प्रकाशित: १८ असार २०८३ १०:४७ बिहीबार





