१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

पाँच हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको काम धमाधम

चौथो ताप्लेजुङ गोल्डकपको तयारी तीव्र

आगामी भदौ १२ गतेदेखि सुरु हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै खेल मैदानको व्यवस्थापनसँगै करिब पाँच हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको काम सुरु गरिएको आयोजकले जनाएको छ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिता हुने भानुजन माध्यमिक विद्यालयको घाँसे मैदानलाई खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम अघि बढाएको छ। समितिका अध्यक्ष सागर मादेनका अनुसार मैदानमा लगाइएको दुबो व्यवस्थित गर्दै खेलयोग्य बनाउने कार्य विगत दुई दिनदेखि निरन्तर जारी छ।

‘धेरै मेहनत गरेर रोपिएको दुबोको आवश्यक भाग कटान गरी मैदानलाई पूर्ण रूपमा खेल खेल्न योग्य बनाउने काम गरिरहेका छौँ,’ अध्यक्ष मादेनले भने।

समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार खेल मैदानमा रहेको स्थायी प्याराफिटसँगै थप अस्थायी प्याराफिट निर्माण भइरहेको छ, जहाँ करिब पाँच हजार दर्शकले बसेर खेल अवलोकन गर्न सक्नेछन्। यस वर्ष प्याराफिट क्षेत्रमा पारदर्शी छाना जडान गरी घाम र वर्षाबाट दर्शकलाई सुरक्षित राख्ने तयारी पनि गरिएको उनले बताए।

प्रतियोगितामा आयोजकसहित आठ टोलीको सहभागिता रहने टुंगो लागिसकेको छ। आयोजकका अनुसार भारतका टोलीसँगै भुटानको एक चर्चित क्लबलाई पनि सहभागी गराउने विषयमा छलफल भइरहेको छ। पाँचथर, इलाम, सातदोबाटो र सलहेशलगायतका टोलीको सहभागिता भने लगभग निश्चित भइसकेको छ।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने तयारी गरिएको आयोजकले जनाएको छ। यद्यपि, पुरस्कार रकम कति वृद्धि गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको कोषाध्यक्ष शेर्पाले जानकारी दिए।

गत वर्ष प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। अघिल्लो संस्करणमा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिएको थियो भने यस वर्ष मोटरसाइकल वा स्कुटरमध्ये एक पुरस्कार दिने तयारी रहेको अध्यक्ष मादेनले बताए। विधागत पुरस्कारहरू भने अघिल्ला वर्षझैँ कायम रहनेछन्।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतियोगिताको खेल तालिका यस वर्ष समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–७ को स्याम्दो पोखरीबाट सार्वजनिक गर्ने तयारी गरिएको छ। गत वर्ष प्रतियोगिताको खेल तालिका ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो।

यसैगरी, प्रतियोगितामा प्रयोग हुने फुटबल ताप्लेजुङका करिब ६ हजार मिटर उचाइका हिमालसम्म पुर्‍याएर प्रतीकात्मक रूपमा ल्याई खेलमा प्रयोग गर्ने तयारी पनि आयोजकले गरेको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८३ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App