अमेरिकी टेनिस स्टार कोको गफले चीन ओपनमा खेलका क्रममा भएको घटनापछि सामाजिक सञ्जालमा आफू जातीय दुर्व्यवहारको सिकार भएको बताएकी छन्।
बेइजिङमा भएको खेलमा गफले १६ वर्षीया चिनियाँ खेलाडी सुन सिनरानलाई ७-५, ६-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी थिइन्। पहिलो सेटमा ४-५ को अवस्थामा गफले सर्भ गरिरहेकी थिइन्। त्यसक्रममा सुनले गफको प्रहार कोर्टभित्र नपर्ने ठानेकी थिइन्।
तर कोर्टको छेउमा रहेको प्रकाश झिम्किरहेको देखेपछि गफले हात उठाउँदै खेल रोक्न संकेत गरिन्। त्यसपछि खेल पुनः सुरु हुँदा गफले लगातार तीन अंक जित्दै स्कोर ५-५ मा पुर्याइन् र पहिलो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेटमा उनले एक खेल मात्र गुमाउँदै सहज जित निकालिन्।
खेलपछि गफले सामाजिक सञ्जालमार्फत आफूले खेल रोक्नुको कारण स्पष्ट पारेकी थिइन्। उनले प्रकाशमा देखिएको समस्या आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको भन्दै यो घटना दुर्भाग्यपूर्ण भएको बताएकी थिइन्। गफका अनुसार सुनले उनको स्पष्टीकरण र माफी स्वीकार गरेकी थिइन्।
तर त्यसपछि गफको पोस्टमा आएका प्रतिक्रियामध्ये केहीमा जातीय दुर्व्यवहारपूर्ण भाषा प्रयोग गरिएको थियो। त्यसको जवाफ दिँदै गफले आफूलाई मन नपराउन वा खेलका क्रममा भएको घटनाबारे असहमत हुन सकिने तर त्यसका लागि जातीय दुर्व्यवहार गर्न नहुने बताइन्।
गफले पछिल्ला केही घण्टामा आफूले सामाजिक सञ्जाल र प्रत्यक्ष सन्देशमार्फत ठूलो संख्यामा जातीय दुर्व्यवहारपूर्ण टिप्पणी सामना गर्नुपरेको बताएकी छिन्।
प्रकाशित: २० आश्विन २०८३ ०९:१७ मंगलबार





