१९ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्कन पोर्चुगलका प्रशिक्षक जर्जको खुला प्रस्ताव, के भने ?

पोर्चुगलका प्रशिक्षक जर्ज जेससले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने बताएका छन्।

रोनाल्डो पछिल्ला खेलमा टोलीबाट बाहिरिएपछि उनको अन्तर्राष्ट्रिय खेल भविष्यबारे चर्चा भइरहेका बेला जेससले टोलीमा फर्कने बाटो खुला रहेको बताएका हुन्।

नर्वेविरुद्ध २-१ को जितपछि जेससले रोनाल्डो टोलीमा फर्कने वा नफर्कने निर्णय उनकै हातमा रहेको बताए। उनले साउदीको अल-नासरबाट खेलिरहेका रोनाल्डो राष्ट्रिय टोलीका लागि छनोट हुन सक्ने पनि बताए।

‘यदि उनी चाहन्छन् भने उनी राष्ट्रिय टोलीमा फर्कनेछन्। क्रिसले निर्णय गर्ने व्यक्ति हुन्,’ जेससले भने।

रोनाल्डो सेप्टेम्बर २४ मा वेल्सविरुद्धको नेसन्स लिग खेलमा सुरुआती टोलीमा थिए। तर पछि उनलाई मैदानबाट निकालिएको थियो। सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा भने उनी बेन्चमा रहे पनि मैदानमा प्रवेश पाएनन्।

डेनमार्कविरुद्धको खेलमा पनि बेन्चमै रहने जानकारी पाएपछि रोनाल्डो साउदी अरेबिया फर्किए। उनको अनुपस्थितिमा पोर्चुगलले डेनमार्कलाई ४-२ ले हराएको थियो। त्यसपछि नर्वेलाई २-१ ले हराउँदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बन्यो।

रोनाल्डो टोलीबाट बाहिरिएपछि उनको राष्ट्रिय टोलीको भविष्यबारे चर्चा बढेको छ। पोर्चुगलका कप्तान ब्रुनो फर्नान्डेसले भने रोनाल्डो टोलीका महत्वपूर्ण खेलाडी रहेको बताउँदै टोलीभित्र कुनै विभाजन नरहेको बताएका छन्।

जेससले पनि रोनाल्डो पोर्चुगलका लागि महत्वपूर्ण खेलाडी रहेको बताए। उनले आफू प्रशिक्षक बनेदेखि नै रोनाल्डोलाई टोलीमा आवश्यक रहेको बताउँदै आएको जानकारी दिए।

‘क्रिस्टियानोले राष्ट्रिय टोलीमा आफ्नो समय उनले चाहेअनुसार अन्त्य गर्नुपर्छ। कसरी अन्त्य गर्ने भन्ने निर्णय गर्ने व्यक्ति उनै हुन्,’ जेससले भने।

जेससले आगामी नोभेम्बरका खेलअघि रोनाल्डोसँग फेरि कुराकानी गर्न सकिने बताए। तर अन्तिम निर्णय रोनाल्डोकै हुने उनको भनाइ छ। पोर्चुगलले नोभेम्बर १४ मा डेनमार्क र नोभेम्बर १७ मा वेल्ससँग खेल्नेछ। यी खेलमा रोनाल्डो फर्कन्छन् कि फर्कंदैनन् भन्ने विषयमा चासो बढेको छ।

सन् २००३ मा १८ वर्षको उमेरमा पोर्चुगलबाट डेब्यू गरेका रोनाल्डोले यसै वर्ष फुटबलमा आफ्नो अन्तिम वर्ष हुने बताएका छन्। उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता र सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन्। उनले पोर्चुगलबाट ६ वटा विश्वकप खेलिसकेका छन्।

प्रकाशित: १९ आश्विन २०८३ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App