केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालयमा छापा मारेको छ।
एन्फामाथि आर्थिक अनियमिततालगायतका विषयमा भइरहेको अनुसन्धानका क्रममा शुक्रबार सीआईबीको टोली एन्फा कार्यालय पुगेको हो। टोलीले अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएको छ भने एन्फाका केही पदाधिकारीसँग सोधपुछ पनि गरेको छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले नागरिक न्यूजलाई भने,' एन्फासम्बन्धी अनुसन्धानकै क्रममा कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको र केही पदाधिकारीसँग सोधपुछ गरेका हौँ। कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छौँ।'
एन्फामाथि आर्थिक अनियमितता, खरिद प्रक्रिया तथा विभिन्न गतिविधिमा अनियमितता भएको आरोपसम्बन्धी उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाइरहेको छ। राष्ट्रिय खेलकुद परिषद्का छानबिन प्रतिवेदनसमेत यस अनुसन्धानको पृष्ठभूमिमा रहेका छन्। राखेप र एन्फाबीचको लफडाको कारण यतिखेर फिफाले एन्फालाई निलम्बन समेत गरेको छ।
प्रकाशित: ३ आश्विन २०८३ ०९:२७ शनिबार





