आईपीएलको १९औँ सिजनमा महेन्द्र सिंह धोनी बिना मैदान उत्रिएको चेन्नई सुपर किंग्स (सीएसके) ले हारका साथ प्रतियोगिताको सुरुवात गरेको छ। सोमबार गुवाहाटीको बारसापारा क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई राजस्थान रोयल्ससँग ८ विकेटले पराजित भएको हो।
टस जितेर पहिले बलिङ गरेको राजस्थानले चेन्नईलाई १९.४ ओभरमा १२७ रनमै अलआउट गर्यो। चेन्नईका लागि जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १२.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। राजस्थानका युवा ओपनर वैभव सूर्यवंशीले मात्र १७ बलमा ५२ रनको आक्रामक अर्धशतक प्रहार गरे (१५ बलमा अर्धशतक पूरा गरेका थिए)। उनको इनिङ्समा ४ चौका र ५ छक्का रहेका थिए।
बलिङतर्फ राजस्थानका रवीन्द्र जडेजा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले २/२ विकेट लिए भने चेन्नईका अंशुल कम्बोजले पनि २ विकेट हात पारे।
पूर्वकप्तान महेन्द्र सिंह धोनी चोट (क्याल्फ स्ट्रेन) का कारण कम्तीमा २ साता मैदान बाहिर रहनेछन्। त्यस्तै, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस पनि चोटका कारण सुरुवाती २-३ खेल गुमाउने छन्।
यस सिजनमा ऋतुराज गायकवाडले चेन्नई र रियान परागले राजस्थान रोयल्सको कप्तानी सम्हालेका छन्।
प्रकाशित: १७ चैत्र २०८२ ०७:३७ मंगलबार





