जाबी अलोन्सोको नेतृत्वमा चेल्सीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा रोमाञ्चक जितसहित सुरुवात गरेको छ। सोमबार राति भएको लन्डन डर्बीमा चेल्सीले फुलहमलाई ३–२ गोलले हरायो।
चेल्सीले खेल सुरु भएको ३० सेकेन्डमै जोआओ पेड्रोको गोलबाट अग्रता लिएको थियो। त्यसपछि मोर्गन रोजर्सले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको सुरुवातमै कोल पाल्मरले तेस्रो गोल गरे।
फुलहमका जोस किङ र गोन्जालो गार्सियाले गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए पनि घरेलु टोलीले बराबरी गोल गर्न सकेन। अन्तिम समयसम्म दबाब बनाए पनि फुलहमले चेल्सीको अग्रतालाइ तोड्न सकेन।
अलोन्सोको नयाँ चेल्सीले आक्रमणमा प्रभावशाली क्षमता देखाए पनि रक्षापंक्तिमा भने पुरानै कमजोरी दोहोरिएको देखियो। गोलरक्षक रोबर्ट सान्चेजको प्रदर्शन पनि खेल अवधिभर खासै राम्रो रहनसकेन।
चेल्सीका लागि पेड्रो, रोजर्स र पाल्मरको अग्रपंक्ति भने निकै प्रभावशाली देखिएको छ। तीनै खेलाडीले गोल गर्दै अलोन्सोको टोलीमा नयाँ आक्रामक सम्भावनाको संकेत दिएका छन्।
अलोन्सोले पहिलो खेलमै जित दिलाए पनि चेल्सीको रक्षात्मक कमजोरी सुधार्नु उनको प्रमुख चुनौती बन्ने देखिएको छ। यद्यपि सुरुवाती प्रदर्शनले नयाँ सिजनमा चेल्सीका समर्थकमा उत्साह भने बढाएको छ।
प्रकाशित: ९ भाद्र २०८३ ०६:१७ मंगलबार





