३ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

कर्णाली प्रदेशको सर्वाधिक पुरस्कार राशिको चन्द्र स्मृति कप सुरु

कर्णालीको सर्वाधिक पुरस्कार राशि रहेको चन्द्र स्मृति कपको सातौं संस्करण मंगलबारदेखि सुर्खेतको गुर्भाकोटमा सुरु भएको छ। मेहेलकुना फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ।

वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। साथै प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। प्रतियोगितामा नेपाल प्रहरीको विभागीय टिमसहित १५ टिम सहभागी भएको आयोजक मेहेलकुना फुटबल क्लबका अध्यक्ष काशी थापामगरले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले चन्द्र स्मृति कप कर्णालीको प्रतिष्ठित प्रतियोगिता बन्न पुगेको बताए। “हरेक वर्ष नयाँ वर्षको सुरुवातसँगै यो प्रतियोगिताको आयोजना हुन्छ,” उनले भने, “भेरी किनारको सुन्दर नगरीमा हुने प्रतियोगिता सर्वाधिक राशिको मात्र होइन, कला संस्कृतिको संगम स्थल पनि हो।” उनले खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार अझै कमी रहेको बताउँदै त्यसका लागि स्थानीय तहले प्रदेश र संघसँग समन्वय गरिरहेको बताए।

गुर्भाकोट नगरपालिकाका उपमेयर मैना विकले मेहेलकुनामा बस्ती बसाउने पूर्व माननीय चन्द्रबहादुर बुढाको सम्झनालाई स्थायी बनाउन हरेक वर्ष नयाँ वर्षको दिनदेखि खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको बताइन्। “पछिल्लो समय यसको नेतृत्व मेहेलकुना फुटबल क्लबले गरिरहेको छ,” उनले भनिन्, “यसअघि पनि विभिन्न क्लबहरूले कार्यक्रम आयोजना गर्दै आएका थिए।”

यसपटक फुटबलसँगै ब्याडमिन्टन प्रतियोगिताको पनि आयोजना गरिएको छ। ब्याडमिन्टन प्रतियोगितामा १४ टिमको सहभागिता रहेको अध्यक्ष थापामगरले जानकारी दिए।

प्रकाशित: १ वैशाख २०८३ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App