फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडा घरेलु मैदानमा शुक्रबार फुटबल इतिहासको एउटा विशेष क्षणको साक्षी बन्दै छ।
बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध क्यानडाले आफ्नै भूमिमा पहिलोपटक पुरुष विश्वकप खेल्दै छ। समूह ‘बी’ को उक्त खेल शुक्रबार राति टोरन्टो स्टेडियममा हुने तयारीमा छ। विश्वकपमा आयोजक राष्ट्रहरू प्राय सफल बनेको इतिहास छ। अघिल्ला २२ संस्करणमध्ये २० पल्ट आयोजक टोली समूहचरण पार गर्न सफल भएका छन्। दक्षिण अफ्रिका (सन् २०१०) र कतार–सन् २०२२) मात्र पहिलो चरणबाटै बाहिरिएका थिए। यसपल्ट कतार पनि क्यानडाकै समूह छ। जुन समूहको चौथो टोली बलियो स्विट्जरल्यान्ड हो। घरेलु मैदान, समर्थकको अपार साथ, राम्रो लय र सकारात्मक इतिहासका कारण क्यानडा इतिहास रच्ने आशा छ।
यसपटक आफ्नो पहिलो विश्वकप जितसँगै समूहचरण पार गर्दै ऐतिहासिक उपलब्धि निकाल्ने क्यानडाको लक्ष्य छ। जुन पहिलो खेलले क्यानडाको विश्वकप यात्राको निर्धारण गर्न सक्छ। विश्वकपको सहआयोजकका रूपमा उद्घाटन समारोहको केही विशेष कार्यक्रम पनि हुने तयारी छ। उत्तरी अमेरिका राष्ट्र अमेरिका र मेक्सिकोसँगै क्यानडा हुँदै गरेको यो विश्वकप ऐतिहासिक र फुटबलको नयाँ अध्याय पनि हो। सहभागी राष्ट्र, खेलाडी र खेल संख्याका हिसाबले यो कीर्तिमानी विश्वकप हो जसको साक्षी क्यानडा पनि बन्नेछ। क्यानडा फुटबलको सबैभन्दा ठूलो मञ्चमा तेस्रो पटक सहभागी हुँदै छ। तर दुईवटा संस्करणलाई क्यानडाले अहिलेसम्म यादगार बनाउन भने सकेको छैन।
क्यानडाले सन् १९८६ र २०२२ मा विश्वकप खेलेको थियो तर, उसले कुनै खेल जित्न सकेन। आफ्नै भूमिमा देशको पहिलो जित निस्कने आशामा घरेलु समर्थक छन्। त्यसका लागि क्यानडाले युरोपको दक्षिणपूर्वी राष्ट्र बोस्निया एन्ड हर्जेगोभिनालाई हराउनु पर्नेछ। फिफा वरीयतामा क्यानडा ३०औं र बोस्निया एन्ड हर्जेगोभिना ६५औं स्थानमा छन्। आफूभन्दा तलको टोलीलाई हराउँदै क्यानडा विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। साथै क्यानडाले नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरेको छ। अमेरिकी प्रशिक्षक जेसे मार्चको प्रशिक्षणमा क्यानडेली टोली पछिल्लो समय उत्कृष्ट लयमा छ। अमेरिकी प्रशिक्षक जेसे मार्च टिमको ‘आक्रामक, आत्मविश्वासी र सशक्त’ खेल शैलीले आसन्न प्रतियोगितामा प्रभाव छाड्ने विश्वास राख्छन्।
‘मैले हाम्रा खेलाडीमा रहेको कोरा क्षमतालाई वृद्धि गर्ने र बाहिर ल्याउने खालको एउटा फुटबल शैली टिममा छिराउने प्रयास गरेको छु। यसबाट हाम्रा खेलाडीको कोरा क्षमता र प्रतिबद्धता उच्चस्तरीय फुटबलमा रूपान्तरित हुनेछ। मेरो विचारमा खेलाडीहरूले यसलाई मन पराइरहेका छन्। म पनि यसमा रमाइरहेको छु,’ मार्चले भने, ‘मेरो विचारमा यो शैलीलाई समर्थकले पनि मन पराउनेछन्। र, यही शैलीले हामीलाई सुखद नतिजा पनि दिनेछ।’ यसपटक समूहचरण पार गर्ने मात्र होइन थप अघि बढ्ने विश्वास पनि घरेलु समर्थकको छ।
यद्यपि, क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबिच यो पहिलो अन्तर्राष्ट्रिय भेट हो। क्यानडाले विश्वकपमा अहिलेसम्म खेलेका सबै ६ खेल गुमाएको छ। त्यसमा उसले दुई गोल गरेको छ भने एक आत्मघाती गोलसमेत समावेश छ। ६ वा सोभन्दा बढी विश्वकप खेल खेलेका राष्ट्रमध्ये सबै खेल हारेको कीर्तिमान एल साल्भाडोरसँगै क्यानडाको नाममा पनि छ। यद्यपि घरेलु मैदानमा क्यानडाको प्रदर्शन निकै प्रभावशाली छ। टोरन्टोमा खेलेका पछिल्ला २८ खेलमध्ये क्यानडाले एक मात्र खेल गुमाएको छ। १८ जित, ९ बराबरी र एक हारको कीर्तिमानले घरेलु समर्थकलाई आशावादी बनाएको छ।
क्यानडाको आक्रमणको केन्द्रमा सर्वाधिक गोलकर्ता जोनाथान डेविड छन्। उनले २०२४ को कोपा अमेरिका र २०२५ को कन्काकाफ गोल्डकपमा गरी चार गोल र एक असिस्ट गरेका थिए। पछिल्ला दुई प्रमुख प्रतियोगितामा क्यानडाले गरेका गोलमा उनको प्रत्यक्ष योगदान रहेको छ। चार वर्षअघि कतारमा क्यानाडा आफ्नो समूहको पुछारमा रहँदै घर फर्किएको थियो। तर अल्फोन्सो डेभिसले क्रोएसियासँग ४–१ को नतिजामा पराजित भएको खेलमा एक गोल गरेका थिए। जुन फिफा विश्वकपको इतिहासमा क्यानाडाको पहिलो गोल थियो।
बोस्निया एन्ड हर्जगोभिना भने दोस्रो पटक विश्वकप खेल्दै छ। उसले पहिलोपल्ट सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा खेलेको थियो। त्यस विश्वकप समूह चरणबाट बाहिरिए पनि अन्तिम खेलमा इरानलाई ३–१ ले हराएको थियो। बोस्नियाले युरोपियन प्लेअफमार्पmत विश्वकपमा स्थान बनाएको थियो। वेल्स र इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै बोस्नियाले विश्वकपको टिकट काटेको हो। छनोटका १० खेलमध्ये एक खेल मात्र हारेको बोस्नियाले सबै खेलमा गोल गर्न सफल भएको थियो। अनुभवी कप्तान इडिन जेको सबैभन्दा ठूलो आशा हुन्। ४० वर्षीय स्ट्राइकरले छनोट चरणमा ९ खेलबाट ६ गोल गर्दै टोलीका शीर्ष गोलकर्ता बनेका थिए।
सन् २०१४ विश्वकपमा उनले तीनवटै खेल खेलेका थिए। जहाँ उनले इरानविरुद्ध गोलसमेत गरे। गोलकिपर निकोला भासिल्जले पनि छनोटमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले सबै (१०) खेलमा पूरा (९६० मिनेट) समय मैदानमा बिताए।
वेल्सविरुद्धको निर्णायक पेनाल्टी सुटआउटमा अन्तिम प्रहार बचाउँदै उनले बोस्नियालाई विश्वकपमा पुर्याएका हुन्।
उत्साहसँगै आलोचनामा क्यानडा
विश्वकपको उद्घाटन भव्य बनाउन टोरन्टोमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिँदै छ। क्यानडेली रक गायिका एलानिस मोरिसेटेले सांगीतिक प्रस्तुत दिनेछिन्। विश्वकप जुलाई १९ सम्म सञ्चालन हुनेछ। टोरन्टोमा ६ र भ्यानकुभरमा सात खेल आयोजना गरिनेछन्। प्रतियोगिताको माहोलसँगै विश्वभरबाट समर्थकहरू क्यानडा पुगेका छन्।
टोरन्टोको फोर्ट योर्क हिस्टोरिकल साइट र द बेन्टवे क्षेत्रमा आयोजित उद्घाटन समारोहमा हजारौं समर्थक सहभागी हुँदै छन्। स्विजरल्यान्डबाट अध्ययनका लागि आएकी विद्यार्थी नतालिया स्टास्ट्नीले टोरन्टोलाई विश्वकप आयोजना गर्नका लागि उपयुक्त सहर भएको बताइन्। ‘यहाँ धेरै संस्कृतिहरूको मिश्रण छ। संसारभरबाट मानिसहरू यहाँ बसोबास गर्छन्। त्यसैले यो साँच्चै बहुसांस्कृतिक सहर हो,’ उनले भनिन्, ‘मानिसहरू अत्यन्त मिलनसार छन्। यहाँ आउन पाउँदा म निकै खुसी छु।’
विश्वकप अवधिभर टोरन्टो र भ्यानकुभरमा दैनिक फिफा फ्यान फेस्टिभल सञ्चालन हुनेछ। टोरन्टोमा एलेसिया कारा, मुर्डा बिट्ज र फ्रेन्च मोन्टानाजस्ता कलाकारले प्रस्तुति दिनेछन्। भ्यानकुभरमा मोट्ली क्रु, ब्रोकन सोशल सिन र केट्रानाडालगायत कलाकार देखिनेछन्। यद्यपि विश्वकप आयोजनाले आलोचना पनि खेपिरहेको छ। धेरै स्थानीय बासिन्दाले टिकटको उच्च मूल्य, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक खर्चप्रति असन्तुष्टि व्यक्त गरेका छन्। टोरन्टोका ब्रान्ड व्यवस्थापक हसन जावेदले जुन २० तारिखमा हुने जर्मनी र आइभरी कोस्ट बीचको खेल हेर्न करिब एक हजार क्यानडेली डलर खर्च गरेको बताए।
टिम क्यानडा
गोलकिपर
म्याक्सिम क्रेपेउ (ओर्लान्डो सिटी), ओवेन गडम्यान (ब्रान्सले), डायन सेन्ट क्लाइर (इन्टर मियामी)
रक्षक
मोइसे बोम्बिटो (निस), डेरेक कोर्नेलियस (रेन्जर्स), अल्फोन्सो डेभिस (बायर्न म्युनिख), लुक डे फोगेरोल्स (डेन्डर इएच), एलिस्टिर जोनस्टन (सेल्टिक), अल्फी जोन्स (मिडिल्सब्रो), रिची लार्या (टोरन्टो), निको सिगुर (हाजडुक स्प्लिट) लोइल वाटरम्यान (सिकागो फायर)
मिडफिल्डर
अली अहमद (नर्विच), टाजन बुचानान
(भियारियाल), माथियु चोइनिरे (एलएएफसी), स्टेफन इयुस्टाकियो (एलएएफसी), मार्सेलो फ्लोर्स (टाइगर्स युएएनएल), इस्माइल कोने (सासौलो), लियाम मिलर (हल), जोनाथन ओसोरियो (टोरन्टो), नाथान डाइलान साबिला (एन्डरलेक), ज्याकोब शाफेलबर्ग (एलएएफसी)
फरवार्ड
जोनाथन डेविड (युभेन्टस), प्रोमिस डेविड (युनियन सेनट जिलोइस), काइल लारिन (साउथह्याम्पटन), टानी ओलुवासेई (भियारियाल)
प्रशिक्षक
जेसे मार्च
टिम बाेस्निया हर्जगाेभिना
गोलकिपर
निकोला भासिल (सेन्ट पाउली), मार्टिन ज्लोमिस्लिक (रिजेका), ओस्मान हाड्जिकिच (स्लाभेन बेलुपो)
रक्षक
सियाद कोलासिनाक (एट्लान्टा), अमर डेडिच (बेन्फिका), निहाद मुजाकिच (गाजियान्टेप), निकोला काटिच (साल्के), तारिक माहारेमोभिच (सासौलो), सेन्ट जेपान राडेल्जिक (रिजेका), डेनिस हाड्जिकाडुनिच (साम्पडोरिया), निडाल सेलिक (लेन्स)
मिडफिल्डर
अमिर हाड्जियामेटोभिच (हल), इभान सन्जिच (पाफोस), इभान बासिच (एस्टाना), डिजेनिस बर्चिच (कार्लस्रुहेर), इर्मिन माहमिच (स्लोभान लिबेरेच), बेन्जामिन ताहिरोभिच (ब्रण्डबाई), अमर मेमिच (भिक्टोरिया प्लाजेन), अर्मिन जिगोभिच (योङ ब्वाइज), केरिम एलाजबेगोभिच (आरबी साल्जबर्ग), इस्मिर बाज्राक्टारेभिच (पिएसभी आइन्डहोभन)
फरवार्ड
इर्मेडिन दिमिरोभिच (स्टुटगार्ट), जोभो लुकिच (युनिभर्सिटाटिया क्लुज), सामेद बाज्दार (जागिलोनिया बियालिस्टक), ह्यारिस ताबाकोभिच (बोरुसिया मोन्चेनग्लाडबाच), इडिन जेको (साल्के)
प्रशिक्षक
सेर्गेज बार्बारेज
प्रकाशित: २९ जेष्ठ २०८३ ०७:५६ शुक्रबार





