भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विपक्षी ब्याटरलाई ‘टाइम-आउट’ मार्फत आउट गराएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ।
क्रिकेटको नियमसम्मत भए पनि यस्तो निर्णयले खेलको गरिमा र उच्च भावनाको कदर नगरेको स्वीकार गर्दै क्यानले बिहीबार एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा नेपाली टोलीको उक्त कदम क्यानले आत्मसात् गर्दै आएको खेल मूल्य-मान्यता र भावना अनुरूप नभएको उल्लेख गरिएको छ।
सचिव खड्काले नेपाली महिला टोलीको सो व्यवहारप्रति क्यानका तर्फबाट माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल एक उदाउँदो क्रिकेट राष्ट्र भएको बताउँदै क्यानले खेलमा अनुशासन, आपसी सम्मान र स्वच्छ प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिने जनाएको छ।
क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सम्पूर्ण सरोकारवालाहरूसमक्ष माफी मागेको छ। मैदानभित्र र बाहिर दुवै अवस्थामा क्रिकेटको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान सदैव प्रतिबद्ध रहने सचिव खड्काले जनाएका छन्।
नेपाल र भुटानबीचको खेलका क्रममा भुटानी ब्याटर निर्धारित समयभित्र क्रिजमा नपुगेको भन्दै नेपाली टोलीले अपिल गरेपछि अम्पायरले ‘टाइम-आउट’ को निर्णय दिएका थिए।

प्रकाशित: २१ जेष्ठ २०८३ १५:३३ बिहीबार





