२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप : झापा ११ सेमिफाइनलमा प्रवेश

झापा-११ झापा २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार धरान रंगशालामा भएको खेलमा  झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा झापाका तर्फबाट राजेश दाहाल र एरोन थापाले गोल गरे। राजेशले खेलको १६ औँ मिनेटमा र  दोस्रो हाफको ४३ औँ मिनेटमा एरोनले गोल गरे।

सातदोबाटोका वेविरोसले दोस्रो हाफको १३ औँ मिनेटमा एक गोल गरि शुन्य हुनबाट जोगाए। खेलको ४८ औँ मिनेटमा सातदोबाटोका खेलाडी वेविरोसले रेडकार्ड पाएपछि सातदोबाटो १० खेलाडीमा सीमित भएका थिए।

झापा ११ ले घरेलु दर्शकको उल्लेखनीय साथ पाएको खेलमा एरोन थापा मगर ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

झापा ११ यसअघि रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेल लालीगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजकले जनाएको छ।

यसअघि आयोजक धरान फुटबल क्लबलाई स्तब्ध बनाउँदै लालीगुराँस एफसी पोखरा सेमिफाइनलमा प्रवेश गरेको थियो। सोमबार भएको क्वाटरफाइनल खेलमा टाइब्रेकरका आधारमा ५-४ गोल अन्तरले हराउँदै लालीगुरासले सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो।

यस्तै, साविक विजेता न्यूरोड टिम (एनआरटी क्लब) लाई हराउँदै प्लानिङ् ब्वाइज काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २-० गोलले हराउँदै प्लानिङ् ब्वाइजले सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: २७ माघ २०८२ १९:१३ मंगलबार