१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विश्वकप खेल्ने सपनानजिक बोलिभिया र जमैका

बोलिभिया र जमैकाले दशकौंपछि फिफा विश्वकपमा पुनरागमन गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्।

मेक्सिकोमा जारी फिफा अन्तरमहादेशीय प्लेअफमा जित निकाल्दै बोलिभिया र जमैका फिफा विश्वकपमा स्थान बनाउनबाट एक जित टाढा पुगेका छन्। सन् १९९४ पछि पहिलोपटक विश्वकप खेल्ने लक्ष्यमा रहेको बोलिभियाले मोन्टेरेमा सुरिनामविरुद्ध २–१ को पुनरागमन जित दर्ता गर्‍यो। यस जितसँगै बोलिभिया अब अर्को मंगलबार निर्णायक खेलमा इराकसँग भिड्नेछ। उक्त खेलको विजेताले अमेरिकामा हुने विश्वकपमा स्थान बनाउनेछ। विजेता फ्रान्स, नर्वे र सेनेगल रहेको कठिन समूह ‘आई’ मा स्थान बनाउनेछ। यस समूहको एउटा खेल भने क्यानडामा हुनेछ। यता जमैकाले ग्वाडालाजारामा भएको अर्को खेलमा न्यु क्यालेडोनियामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

जमैकाले अब विश्वकपमा स्थान बनाउन अर्को मंगलबार लोकतान्त्रिक गणतन्त्र कङ्गोसँग खेल्नेछ । यसको विजेता समूह ‘के’ मा पर्नेछ। उक्त समूहमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलसहित कोलम्बिया र उज्बेकिस्तान छन्। खेलभर जमैकाले बल पोसेसन नियन्त्रणमा राख्यो तर त्यसमा जमैकाले स्पष्ट अवसर सिर्जना गर्न कठिनाइ भोग्यो। खेलको १८औं मिनेटमा बेली टाइ काडामार्टेरीले गरे। यो गोल नै जितका लागि पर्याप्त बन्यो। रोनाल्डो वेब्स्टरको उत्कृष्ट फ्रिकिकलाई न्यु क्यालेडोनियाका गोलकिपर रकी निकेइनले रोक्ने प्रयास गरे तर रिबाउन्ड बललाई व्रेक्सहामका फरवार्ड बेली टाइ काडामार्टेरीले नजिकैबाट गोलमा परिणत गरे।

जमैका दोस्रोपल्ट विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ। यसअघि जमैकाले सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेको थियो। अधिकांश जमैकन खेलाडी इङ्ल्यान्डको तल्लो डिभिजनको फुटबल खेल्छन्। अब कङ्गोविरुद्धको खेलमा जमैकाले सुधारिएको प्रदर्शन आवश्यक छ। किनकि जमैकाले फ्रान्सेद्वारा स्वशासित न्यु क्यालेडोनियाविरुद्ध कठिन जित निकालेको थियो।

बोलिभियाको पुनरागमन जित

बोलिभियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सुरिनामको विश्वकपमा छनोट हुने सपना चकनाचुर पार्‍यो। युवा  खेलाडी मोइसेस पानियागुवाको गोलले बोलिभया खेलमा बराबरी गर्न  सफल भयो। सान्टोसका स्ट्राइकर मिगुएल तेर्सेरोसले ७९औं मिनेटमा गरेको पेनाल्टी गोलले बोलिभियालाई जित दिलायो। सुरिनामले विश्वकपमा छनोट हुने इतिहासकै सबैभन्दा तल्लो वरीयताको टोली बन्ने लक्ष्य राखेको थियो। यद्यपि, अग्रता जोगाउन नसक्दा सफल भएन। मोन्टेरेस्थित बिबिभीए स्टेडियममा सुरिनामले ४८औं मिनेटमा अग्रता लिएको थियो। लियाम भान जेल्डेरेनको गोल गरेका थिए। सुरिनाम फिफाको विश्व वरीयतामा १२३औं स्थानमा छ। अधिकांश खेलाडी नेदरल्यान्ड्समा बसोबास गर्छन्। सुरिनामका लागि उक्त गोल जितका लागि पर्याप्त देखिएको थियो तर दोस्रो हाफसँगै बोलिभियाले खेलमा पकड जमाउन थाल्यो। ७२औं मिनेटमा १८ वर्षे पानियागुवाको लो सट गोलमा परिणत भएपछि खेलले नयाँ मोड लिएको हो।

यसपछि खेल १–१ को बराबरीमा आयो। ६ मिनेटपछि बोलिभियाका फुलब्याक डिएगो मेडिनाले दायाँ फ्ल्यान्कबाट गरेको आक्रमणले सुरिनामको रक्षापंक्तिमा दबाब सिर्जना गर्‍यो। मेडिनाको लो क्रसलाई सब्स्टिच्युट जुआन सिनफोरियानो गोडोयले नियन्त्रणमा लिने क्रममा सुरिनामका डिफेन्डर माइएन्टी अबेनाले फाउल गरे। यसपछि बोलिभियाले पेनाल्टी पायो। अस्ट्रेलियन रेफ्री अलिरेजा फाघानीले पेनाल्टी संकेत गरेपछि केही समय खेल रोकियो तर तेर्सेरोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै बोलिभियालाई २–१ को जित दिलाए। बोलिभियाको विश्वकप छनोट यात्रामा २१ वर्षे स्ट्राइकर तेर्सेरोसका लागि अर्को सम्झनलायक क्षण बन्यो। उनले यसअघि ब्राजिलविरुद्ध १–० को जितमा पनि निर्णायक गोल गरेका थिए, जसले टोलीलाई यस साताको प्लेअफसम्म पुर्‍याएको थियो।

प्रकाशित: १४ चैत्र २०८२ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App