४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

बाम र गुप्टिलको विस्फोटक ब्याटिङमा विराटनगरको विशाल स्कोर, पोखरालाई २२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससामु २२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको हो।

विराटनगरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा लोकेश बाम र न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गुप्टिलले विस्फोटक अर्धशतकीय पारी खेले।

विराटनगरले खेलको दोस्रो ओभरमै ओपनर जर्ज मुन्सीलाई १० रनमा गुमाएको थियो। तर, त्यसपछि क्रिजमा आएका मार्टिन गुप्टिल र अर्का ओपनर लोकेश बामले सानदार साझेदारी गर्दै इनिङ्सलाई उकासे। यी दुईबीच दोस्रो विकेटका लागि १३२ रनको विशाल साझेदारी भयो।

लोकेश बामले टोलीका लागि सर्वाधिक ७२ रन जोडे। उनले ४८ बलको सामना गर्दै ६ चौका र ७ छक्का प्रहार गरे। अर्कोतर्फ, मार्टिन गुप्टिलले आक्रामक ब्याटिङ गर्दै मात्र ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए।

गुप्टिल र बाम आउट भएपछि पनि विराटनगरको रन गति रोकिएन। शुभम रन्जानेले मात्र १६ बलमा ३ चौका र २ छक्काको मद्दतले ३८ रनको विस्फोटक पारी खेले।

त्यस्तै, बसिर अहमदले १३ बलमा २३ रन जोड्दा नारायण जोशीले अविजित रहँदै मात्र ३ बलमा ११ रन बनाए। यही आक्रामक ब्याटिङको मद्दतले विराटनगरले २०० को आँकडा पार गर्‍यो।

पोखरा एभेन्जर्सका बलरहरू आजको खेलमा निकै महँगा साबित भए। म्याट टेलरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए भने आकाश चन्दले पनि ४ ओभरमा ४८ रन दिएर १ विकेट हात पारे। कप्तान कुशल भुर्तेल र सागर ढकालले एक-एक विकेट लिए पनि रन गति रोक्न सकेनन्।

अब २२१ रनको विशाल लक्ष्य पछ्याउन पोखराका ब्याट्सम्यानहरूलाई ठूलो चुनौती हुनेछ।

प्रकाशित: २ मंसिर २०८२ १७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App