२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

अब बढ्दै छ विराटनगर किङ्सको चिन्ता

विस्फोटक ब्याटिङका लागि परिचित विराटनगर किङ्सलाई काठमान्डु गोर्खाजले बलिङको शक्तिमा निरीह बनाएको छ। रनको वर्षा गर्दै आएका विराटनगरका ब्याटरलाई एकपछि अर्को गर्दै पभेलियन फर्काए। यससँगै काठमान्डुले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो जित आत्मसात् रच्यो। काठमान्डुले ६२ बल बाँकी छँदै ९ विकेटको फराकिलो जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा बिहीबार विराटनगरले ८४ रनको झिनो लक्ष्य दियो। काठमान्डुले ९.२ ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर डेविड वार्नर र विलियम बोसिस्टोको अविजित ६९ रनको साझेदारी गरे। विराटनगरको भने पाँच खेलमा यो तेस्रो हार हो। यसअघि ब्याटिङकै बलमा विपक्षीमाथि हाबी हुँदै आएको विराटनगरले यसपटक आफ्नो परिचय जोगाउन सकेन।

यस सिजनकै सर्वाधिक रनकर्ता लोकेश बम र आन्द्रे रसेलसहित अनुभवी ब्याटरको उपस्थिति पनि टोलीका लागि काम लागेन। लोकेश, रसेल, एन्जेलो म्याथ्युज र इमरान शेखजस्ता ब्याटर क्रिजमा टिक्न नसक्दा विराटनगरले यस सिजनकै कमजोर प्रदर्शन गर्न पुग्यो। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो।

मध्यक्रमका एन्जेलो र रूपेश सिंहबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। रूपेशले २७ बलमा २६ रन बनाए। उनले तीन चौका र एक छक्का हिर्काए। म्याथ्युजले ३१ बलमा एक चौकासहित २२ रन जोडे। विराटनगरको सुरुआत नै निराशाजनक रह्यो। दोस्रो ओभरमा सेहान जयसूर्या ६ रनमै आउट भए। त्यसपछि इमरान खाता नखोली र लोकेश बम ६ रनमै पभेलियन फर्किए। यसअघिका खेलमा दुई अर्धशतक प्रहार गरेका लोकेशको विकेट विराटनगरका लागि ठूलो झट्का बन्यो।

पावरप्लेमा तीन विकेट गुमाएर २३ रन मात्र जोडेको विराटनगर त्यसपछि पनि सम्हालिन सकेन। आठौं ओभरमा सेहान आरचचिगेले दुई विकेट लिए। यसपछि टोली थप दबाबमा पर्‍यो। उनले बसिर अहमदलाई १० र नारायण जोशीलाई शून्यमा आउट गरे।

९.४ ओभरमा ३५ रन जोड्दा सात विकेट गुमाएको विराटनगरको इनिङ धराशयी हुने संकेत देखिइसकेको थियो। त्यसपछि एन्जेलो र रूपेशले आठौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई केही राहत दिलाए तर सन्तोष यादवले १७औं ओभरमा एन्जेलोलाई बोल्ड गरेपछि विराटनगरको प्रतिरोध पनि समाप्त भयो। त्यसपछि लगातार विकेट गुमाएको टोली ८३ रनमै समेटियो। काठमान्डुका बलरले सामूहिक प्रदर्शन गर्दै विराटनगरको ब्याटिङ क्रम ध्वस्त पारे। सन्तोषले तीन विकेट लिए। उनी म्यान अफ दी म्याच पनि भए। करण केसी र आरचचिगेले समान दुई विकेट हात पारे।

जहानदाद, साहाब आलम र देव साहले समान एक विकेट लिए। कप्तान करणसहित सबै बलरले किफायती बलिङ गर्दा विराटनगरले ठूलो योगफल बनाउने अवसर नै पाएन। सामान्य लक्ष्य पछ्याएको काठमान्डुले भने कुनै दबाब महसुस गरेन।

ओपनर साहिल पटेललाई १० रनमा गुमाए पनि वार्नर र बोसिस्टोले दोस्रो विकेटका लागि साझेदारी गरे। वार्नरले २४ बलमा दुई चौका र एक छक्कासहित ४४ रन बनाए। बोसिस्टोले पनि समान २४ बल खेल्दै तीन चौकाको मद्दतमा अविजित २३ रन जोडे। यससँगै काठमान्डुले तेस्रो खेलमा दोस्रो जित निकालेको छ।

टोलीको जितमा बलरहरूको अनुशासित प्रदर्शन निर्णायक बन्यो। प्लेअर अफ दी म्याच सन्तोषले स्पिनरलाई सहयोग गर्ने पिचमा स्टम्पलाई लक्ष्य बनाएर बलिङ गर्ने योजना सफल भएको बताए। ब्याटरलाई धेरै पेस नदिने रणनीतिले पनि विकेट निकाल्न मद्दत गरेको उनको भनाइ थियो। वार्नरजस्ता विश्वस्तरीय खेलाडीसँग एउटै टोलीबाट खेल्न पाउनु आफ्नो लागि खुसीको क्षण भएको सन्तोषले बताए। दबाबको अवस्थामा कसरी बलिङ गर्ने भन्ने विषयमा वार्नरबाट सिक्ने अवसर पाएको पनि उनले उल्लेख गरे।

विराटनगरका प्रशिक्षक धमिका प्रसादले ब्याटरको असफलता नै हारको मुख्य कारण बताए। पिचमा बल केही घुमे पनि त्यसलाई हारको बहाना बनाउन नमिल्ने उनको भनाइ थियो। खेलको अवस्थाअनुसार ब्याटरले जिम्मेवारीपूर्वक खेल्न नसक्दा टोलीले ठूलो मूल्य चुकाउनुपरेको उनले बताए।

यो खेलसँगै रसेलको एनपिएलमा यात्रा सकिएको छ। रसेल बाहिरिएपछि उनको स्थानमा कसलाई ल्याउने भन्ने निर्णय टिम मालिक पारस लुनियासँगको छलफलपछि मात्र हुने प्रशिक्षक धमिकाले जानकारी दिए।

अनुभवी खेलाडीको साथ रहेकाले आगामी खेलमा टोली पुनरागमन गर्ने उनको विश्वास छ। यस खेलमा विराटनगरको हार योगफलमा सीमित रहेन। बलियो ब्याटिङको छवि बनाएको टोलीका मुख्य खेलाडी नै दबाबमा टिक्न नसक्नु उसका लागि चिन्ताको विषय बनेको छ।

बलिङमा भने यसअघि नै विराटनगरले लय समात्न सकेको छैन। कप्तान सन्दीप लामिछानेसहित आशा गरिएका बलर नचल्नु विराटनगरको अर्को चिन्ताको विषय हो। बलिङ र ब्याटिङ दुवैमा साथ दिँदै आएका अनुभवी रसेल बाहिरिएको अवस्थामा बलिङसँगै ब्याटिङमा कमजोर प्रदर्शन हुनुले विराटनगरको आगामी यात्रा कठिन बन्न सक्नेछ।  

प्रकाशित: २० कार्तिक २०८३ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App