२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सधैं चर्चामा प्रधानमन्त्री बालेनका स्टाटस

काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेर चर्चामा रहने बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेपछि पनि त्यही शैलीमा सक्रिय छन्। प्रधानमन्त्री बनेपछि उनका फेसबुक पोस्टहरू सरकारका निर्णय, प्रशासनिक गतिविधि, राजनीतिक विवाद र सार्वजनिक सरोकारका विषयमा बहस सुरु गर्ने माध्यम बनेका छन्।

प्रधानमन्त्री बनेपछि सार्वजनिक सञ्चारका लागि औपचारिक पत्रकार सम्मेलन वा सरकारी विज्ञप्तिभन्दा व्यक्तिगत सामाजिक सञ्जाललाई प्राथमिकता दिएको भन्दै उनको कार्यशैलीमाथि बहससमेत भइरहेको छ। उनका कतिपय पोस्टले सरकारका निर्णयबारे जानकारी दिएका छन् भने कतिपयले राजनीतिक वृत्तमा नयाँ अड्कलबाजी र विवाद सिर्जना गरेका छन्।

प्रधानमन्त्रीको एउटा पोस्टमा लाखौँको प्रतिक्रिया आउनु र त्यसैलाई सञ्चारमाध्यमले समाचारको विषय बनाउनु अहिले सामान्यजस्तै भएको छ। बालेनका पोस्टको चर्चा केवल लोकप्रियतामा सीमित छैन, तिनले सरकारको सञ्चार शैली, सार्वजनिक जवाफदेहिता र राजनीतिक संवादको स्वरूपबारे पनि प्रश्न उठाएका छन्।

याक चिजदेखि प्रधानमन्त्रीको ‘फेसन’ सम्म

प्रधानमन्त्री बनेपछि बालेनको सबैभन्दा बढी चर्चा भएको पोस्टमध्ये एउटा हो; याक चिजको प्रचार। २०२६ मे १६ मा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको याक चिजको तस्बिर फेसबुकमा राख्दै ‘से चिज, डीडीसीको चिज’ भन्ने सन्देश दिएका थिए।

सरकारी संस्थानको उत्पादन प्रवर्द्धन गरेको भन्दै उनको पोस्टको प्रशंसा भयो। उक्त पोस्टमा समाचार तयार पार्दासम्म करिब चार लाख ९५ हजार लाइक र ४८ हजारभन्दा बढी प्रतिक्रिया आएका थिए। पोस्टपछि डीडीसीका उत्पादनको बजार चासो र बिक्री बढेको समाचारसमेत सार्वजनिक भएको थियो।  

त्यसअघि मे ९ मा उनले सेतो सर्ट, धर्के पाइन्ट, सेतो जुत्ता र कालो चस्मा लगाएको आफ्नो तस्बिर सार्वजनिक गरेका थिए। त्यही पहिरनमा टिकटकमा भिडियोसमेत राखेपछि सामाजिक सञ्जालमा त्यसको नक्कल गर्ने र एआई प्रयोग गरेर उस्तै तस्बिर बनाउने प्रवृत्ति देखियो। प्रधानमन्त्रीको पहिरनसमेत सामाजिक सञ्जालको ट्रेन्ड बन्न पुगेको थियो।  

यी दुई पोस्टले बालेनको सामाजिक सञ्जाल प्रयोग राजनीतिक अभिव्यक्तिमा मात्र सीमित नरहेको देखाएका छन्। सरकारी उत्पादनको प्रचार, व्यक्तिगत छवि निर्माण र जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा पनि उनले फेसबुकलाई प्रयोग गरेका छन्।

भूमिहीनलाई आश्वासन र सरकारको बचाउ

प्रधानमन्त्री बनेपछि बालेनले सार्वजनिक गरेका पोस्टमध्ये भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी अभिव्यक्ति पनि चर्चामा रह्यो।

२०२६ मे ४ मा उनले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गरिने तथा अन्य भूमिहीन नागरिकका विषयमा सम्बन्धित आयोगको सिफारिस र संकलित तथ्याङ्कका आधारमा निर्णय गरिने बताएका थिए।

सरकारले नागरिकलाई विस्थापित गर्ने उद्देश्य नराखेको र आवासको अधिकार सुनिश्चित गर्दै समस्याको स्थायी समाधान खोजिरहेको उनको पोस्टको आशय थियो। यसरी प्रधानमन्त्रीले सरकारी निर्णयको बचाउ र नागरिकलाई आश्वस्त पार्न व्यक्तिगत फेसबुक पेज प्रयोग गरेका थिए।  

त्यस्तै, विद्यार्थी तथा कर्मचारी सङ्गठन खारेज गर्ने सरकारी निर्णयको औचित्य पुष्टि गर्ने र अन्य नीतिगत विषयमा पनि उनले सामाजिक सञ्जालमार्फत धारणा राखेका थिए।

बजेटपछि ‘रेस्ट एस्योर्ड’

सरकारको बजेट सार्वजनिक भएपछि पनि बालेनको छोटो स्टाटस चर्चामा आएको थियो। आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक भएको समयमा उनले राति ९ बजेर ५४ मिनेटमा फेसबुकमा ‘रेस्ट एस्योर्ड’ अर्थात् ढुक्क रहनुहोस् भन्ने छोटो सन्देश राखेका थिए।

छोटो शब्दमा लेखिएको उक्त पोस्टले सामाजिक सञ्जालमा विभिन्न अर्थ र व्याख्या पायो। बजेटका प्राथमिकता, आर्थिक नीतिका कमजोरी र सरकारी योजनाबारे हुनुपर्ने बहस प्रधानमन्त्रीको स्टाटसको आशयतर्फ मोडिएको भन्दै आलोचनासमेत भएको थियो।  

राजदूत बन्ने व्यङ्ग्यात्मक इच्छा

प्रधानमन्त्री बनेपछि बालेनको अर्को चर्चित पोस्ट राजदूत नियुक्तिसम्बन्धी थियो।

२०२६ जुन ६ मा उनले फेसबुकमा लेखेका थिए, ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ?’

नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत बन्ने इच्छासहित प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएपछि बालेनले व्यङ्ग्यात्मक शैलीमा उक्त पोस्ट गरेका थिए। पोस्टमा मन्त्री तथा सत्तापक्षका नेताहरूले समेत ठट्यौली प्रतिक्रियाहरू दिएका थिए।

तर, प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले प्रशासनिक नियुक्तिजस्तो संवेदनशील विषयमा व्यङ्ग्य गर्नु उपयुक्त हो कि होइन भन्ने बहस पनि सुरु भयो। केहीले उनको शैलीलाई राजनीतिक नियुक्तिमा हुने चलखेलमाथिको व्यङ्ग्यका रूपमा लिए भने केहीले प्रधानमन्त्री पदको गरिमासँग जोडेर आलोचना गरे।  

‘समय आएपछि सबैको खराब समय आउँछ’

नोभेम्बर १ मा प्रधानमन्त्री बालेनले अर्को रहस्यमय पोस्ट सार्वजनिक गरे। उनले लेखेका थिए, ‘सही समय आएपछि सबैको खराब समय आउँछ। एक–दुई जना उम्किन्छन् भनेर कसैले सपना नदेखे हुन्छ।’

उनले कुनै व्यक्ति वा घटनाको नाम नलिए पनि उक्त अभिव्यक्ति न्यायाधीशसँग बिचौलियाको सम्पर्क रहेको भनिएको प्रकरण र सञ्चारमाध्यममा प्रहरी परिचालन भएको विषयमा सरकारको आलोचना भइरहेका बेला आएको थियो।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनले समेत उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै ‘सही समय कहिले आउँछ ?’ भन्ने आशयको टिप्पणी गरेका थिए। त्यसपछि प्रधानमन्त्रीको पोस्टको आशयलाई लिएर राजनीतिक तथा सञ्चार वृत्तमा थप चर्चा भएको थियो।  

‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

प्रधानमन्त्री बालेनको पछिल्लो चर्चित पोस्ट भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य राजनीतिक दलबीचको राजनीतिक प्राथमिकतासँग जोडिएको देखिएको छ।

कात्तिक १९ गते राति फेसबुकमा उनले लेखेका छन्, ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रा नेता लड्छन्, मानवताले आशा गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’

चितवनमा रास्वपा सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक हटाउने विषयमा पार्टीले सरकारलाई निर्देशन नदिएको र सरकारले निर्णयको औचित्य आफैँ पुष्टि गर्नुपर्ने अभिव्यक्ति दिएको केही घण्टापछि बालेनको यो पोस्ट सार्वजनिक भएको थियो।

पोस्टमा कसलाई लक्षित गरिएको हो भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन्। तर, यसको समय र अभिव्यक्तिको आशयलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन्।  

व्यक्तिगत पेज कि सरकारको आधिकारिक मञ्च ?

बालेनका पोस्टको चर्चा बढेसँगै अर्को महत्वपूर्ण प्रश्न पनि उठेको छ; प्रधानमन्त्रीको व्यक्तिगत फेसबुक पेजलाई सरकारी सञ्चारको माध्यमका रूपमा कति प्रयोग गर्न मिल्छ ?

प्रधानमन्त्रीको व्यक्तिगत पेजमा ४६ लाखभन्दा बढी फलोअर रहेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा तुलनात्मक रूपमा निकै कम फलोअर रहेको विवरण पनि त्यसमा उल्लेख थियो।

डिजिटल अधिकार नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले व्यक्तिगत सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्नुमा धेरै मानिससम्म छिटो सन्देश पुर्‍याउने चाहनासँगै सामाजिक सञ्जालबाट प्राप्त हुने आर्थिक आम्दानीको पक्ष पनि जोडिन सक्ने बताएका थिए। प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञले भने सरकारी र व्यक्तिगत दुवै प्लेटफर्मलाई व्यवस्थित रूपमा प्रयोग गर्ने नीति रहेको बताएका थिए।  

प्रधानमन्त्रीको व्यक्तिगत लोकप्रियता र सरकारी सूचनाको विश्वसनीयता एउटै विषय होइनन्। त्यसैले सरकारी निर्णय, नीति र नागरिकसँग सम्बन्धित आधिकारिक सूचना संस्थागत सरकारी माध्यमबाट पनि नियमित रूपमा सार्वजनिक हुनु आवश्यक देखिन्छ।

बालेनका पोस्टले तत्काल जनताको ध्यान खिच्ने, राजनीतिक बहस सुरु गर्ने र सञ्चारमाध्यमको समाचारको विषय बन्ने गरेको देखिन्छ। तर, पोस्टमा आएका लाइक, कमेन्ट र सेयरलाई जनमतको पूर्ण प्रतिनिधित्व मान्न सकिँदैन। सामाजिक सञ्जालमा देखिने लोकप्रियता र वास्तविक जनधारणा फरक हुन सक्छन्।

नेपाली राजनीतिमा कुनै समय नेताको भाषण सुन्न सभा–सम्मेलनमा पुग्नुपर्ने अवस्था थियो। अहिले भने नेताले के बोले भन्नेभन्दा पनि फेसबुकमा के लेखे भन्ने चासो बढिरहेको छ। प्रधानमन्त्री बालेनका पोस्टले यो परिवर्तनलाई अझ स्पष्ट पारेका छन्।  

प्रधानमन्त्रीको एउटा स्टाटसले सरकारको निर्णयको व्याख्या गर्छ, अर्कोले बजारमा स्वदेशी उत्पादनको चर्चा बढाउँछ र अर्कोले सत्ता तथा प्रतिपक्षबीच राजनीतिक बहस सिर्जना गर्छ। यसले नेपाली राजनीतिमा सामाजिक सञ्जाल अब नेताको अभिव्यक्ति राख्ने थलो मात्र नभई राजनीतिक एजेन्डा निर्माण र सार्वजनिक बहस प्रभावित गर्ने शक्तिशाली माध्यम बनेको देखाउँछ।

प्रकाशित: २० कार्तिक २०८३ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App