इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२७ सिजनअघि दुई ठूला फ्रेन्चाइज बीच महत्वपूर्ण खेलाडी साटफेर भएको छ ।
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् ।
आइपिएल २०२७ अघि भएको यस चर्चित ट्रेडले दुवै टोलीको संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउने देखिएको छ । भारतीय क्रिकेट टोलीका अलराउन्डर पाण्ड्या १८ करोड भारुमा पञ्जाब जानेछन् ।
यसअघि उनले मुम्बईबाट १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई जानेछन् ।
पाण्ड्याको मुम्बईसँगको दोस्रो यात्रा यससँगै समाप्त हुनेछ । उनले सन् २०१५ मा मुम्बईबाटै आइपिएल करियर सुरु गरेका थिए । मुम्बईमा रहँदा उनले २०१५, २०१७, २०१९ र २०२० मा गरी चार पटक आईपीएल उपाधि जितेका थिए । मुम्बईमा सात सिजन बिताएपछि पाण्ड्या सन् २०२२ मा गुजरात टाइटन्स पुगेका थिए ।
कप्तानको जिम्मेवारी पाएका उनले पहिलो सिजनमै गुजरातलाई उपाधि दिलाएका थिए । गुजरात सन् २०२३ मा पनि फाइनल पुगेको थियो । सन् २०२४ मा पुनः मुम्बई फर्किएका पाण्ड्याले कप्तानी सम्हालेका थिए ।
उनले आइपिएलका १६२ खेलमा २ हजार ९ सय ५५ रन बनाउनुका साथै ८२ विकेट लिएका छन् । उनको स्ट्राइक रेट १४६.२८ रहेको छ । अर्शदीपले आठ सिजन पञ्जाब किङ्समा बिताएपछि नयाँ यात्रा सुरु गर्नेछन् ।
सन् २०१९ मा पञ्जाबबाटै आइपिएलमा डेब्यु गरेका उनी टोलीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले ९६ खेलमा १११ विकेट लिएका छन् ।
भारतका लागि टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलरसमेत रहेका अर्शदीप नयाँ बलबाट विकेट निकाल्न र डेथ ओभरमा प्रभावकारी बलिङ गर्न माहिर छन् ।
उनले सन् २०२५ को आइपिएलमा २१ तथा २०२६ को सिजनमा १४ विकेट लिएका थिए । बायाँहाते तीव्र गतिका बलर अर्शदीपको आगमनले मुम्बईको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ ।
ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने पाण्ड्याको उपस्थितिले पञ्जाबको टोलीलाई नयाँ सन्तुलन दिनेछ ।
प्रकाशित: २५ कार्तिक २०८३ १३:५० बुधबार





