१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

सानाे उमेरमै ठूलाे उपलब्धि

नेपाली महिला क्रिकेट टोलीको आशा र भरोसाको रूपमा आफूलाई स्थापित गर्दै लगेकी छिन् आफूलाई पूजाले।

सन् २००६ को फेब्रुअरी १७ मा महोत्तरीमा जन्मिएकी पूजा सानै उमेरमा नेपाली राष्ट्रिय महिला टोलीमा स्थापित भएकी छन्। नेपाली यु–१९ महिला क्रिकेट टोलीले सफलता चुमिरहँदा उनी त्यसको कप्तान हुन्। सिनियर टोलीबाट डेब्यु गरेपछि उनले उमेरसमूहको कप्तानी गर्दै सफलता दिएकी थिइन्। दायाँ हाते ब्याटर एवम् मध्यम गतिकी बलर उनले सिनियर टोलीबाट पनि आफ्नो छाप छोडेकी छन्। बुवा रञ्जितको संघर्ष पूजाका लागि प्रेरणाको स्रोत हो। रोजगारीका लागि भारत पुगेका बुवासँगै उतै थिइन्, उनी। त्यहाँ नै उनले क्रिकेटमा सिकेकी हुन्। उनले कोभिड महामारीपछि भाईसँगै क्रिकेट प्रशिक्षण सुरु गरेकी थिइन्। पछि उनी नेपाली टोलीमा महत्त्वपूर्ण अलराउन्डरसमेत बनिन्।

पूजा भारतीय क्रिकेटर रोहित शर्मालाई आफ्नो आदर्श मान्ने गर्छिन्। नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहसँग भेट भएपछि नेपाली क्रिकेटसँग उनको साइनो जोडिएको हो। सिंहले नै उनलाई राष्ट्रिय टोलीको ट्य्राल दिने अवसर जुराइ दिएका थिए। पछि पूजामा क्षमता देखेपछि प्रशिक्षकले उनलाई राष्ट्रिय टोलीमा पनि समावेश गरे। त्यहाँबाट सुरु भएको उनको यात्रा अहिले महत्त्वपूर्ण खेलाडी बनेकी छन्। परिवारको भविष्य सुधार्ने सपना बोकेर पूजाका बुबा रञ्जित दिल्ली पुगेका थिए। तीन छोरी र एक छोराका पिताको एउटै लक्ष्य थियो, आइपर्ने सबै दुःख सहेर पनि पैसा कमाउने।

तीन भाइबहिनीमध्ये पूजा माइली हुन्। यीमध्ये भाइ र उनीमा क्रिकेटमोह विशेष थियो। यी दुवै एकेडेमी क्रिकेट सिक्न पुगे। ‘भाइ क्रिकेट खेल्न थालेको थियो। उसलाई एकेडेमीमा लैजान्थें। एकदिन कोचले बुबासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्षमता छ क्रिकेट खेल्नुपर्छ भन्नुभयो,’ पूजाले क्रिकेट करिअरको सुरुआती दिन सम्झँदै भनिन्, ‘अनि बुबाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो र म क्रिकेटसँग जोडिएँ।’

उनको नेपाल आगमनको प्रसंग पनि भाइसँग जोडिएको छ। दुई वर्षअघि उनका बुबा र भाइ एक कार्यक्रमका लागि नेपाल आएका थिए। त्यहाँ उनको भाई जिल्लाको यु–१५ क्याम्पमा परे। ‘मेरो भाइले एक खेल खेलेर प्लेअर अफ दी म्याच अवार्ड पायो र उसलाई रोशन सर (तत्कालीन क्यान कोषाध्यक्ष हाल उपाध्यक्ष) ले अवार्ड दिनुभयो,’पूजा सम्झिन्छिन्।

भाइले नै रोशनलाई दिदीहरू पूजा र आरती पनि क्रिकेट खेल्ने सुनाएका थिए। दिल्लीबाट पूजाले क्रिकेट खेल्दै गरेको भिडियो रोशनलाई पठाएका थिए, उनले। अनि सम्भव बन्यो, नेपाली क्रिकेटमा पूजाको आगमन। मलेसियामा भएको आइसिसी वुमन्स टी ट्वान्टी विश्वकप एसिया रिजन क्वालिफायरमा हङकङविरुद्ध खेलमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन्।

उक्त खेलमा तीन ओभर बलिङ गर्दै उनले एक मेडनसहित ५ रन मात्र खर्चेर १ विकेट लिइन्। यही खेलमै ओपनिङ गर्दै उनले १८ बलमा १६ रन बनाइन्। यससँगै पहिलो खेलमै उनले प्रभाव जमाइन्। राष्ट्रिय टोलीबाट २० खेलमा १४ इनिङ ब्याटिङ गरेकी पूजाले एक अर्धशतकसहित एक सय ८५ रन बनाएकी छन्।

बलिङमा १९ इनिङमा उनको नाममा १६ विकेट छ। पछि उनले नेपाली यु–१९ टोलीको कप्तानी जिम्मेवारी पाइन्। जहाँ पूजाले यो जिम्मेवारीमा उत्कृष्ट नतिजा पनि दिइन्। उनकै कप्तानीमा नेपालले ऐतिहासिक महिला विश्वकप खेल्दै छ।

आइसिसी यु–१९ महिला टी ट्वान्टी विश्वकप छनोटमा पनि पूजाले शानदार प्रदर्शन गरिन्। छनोटमा नेपालका लागि उनी सर्वाधिक रनकर्तासँगै सर्वाधिक विकेट लिने सूचीको दोस्रोमा थिइन्। एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध उनको शतक अझै यादगार छ। सोही खेलमा उनले पाँच विकेट पनि लिएकी थिइन्। छनोटमा दुई सय ७२ रन बनाएकी पूजाले १० विकेटसमेत लिएकी थिइन्। उनकै कप्तानीमा नेपालले यु–१९ महिला एसिया कप खेलेको थियो। जहाँ नेपाल टेस्ट राष्ट्र पाकिस्तानलाई हराउँदै अघिल्लो चरणसम्म पुग्न सफल भएको थियो।

ब्याटिङ, बलिङ र कप्तानीमा अब्बल पूजाकै नेतृत्वमा यसै वर्ष नेपाल यु–१९ महिला टोली विश्वकप खेलेर फर्किएको छ। उनै पूजा नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा यसपल्ट मनोनयनमा परेकी छन्। मनोनयनले आफूमाथि थप जिम्मेवारी थपेको उनको बुझाइ छ। ‘मेरो लागि परिवारको साथ ठूलो प्रेरणा हो। आमा बूवाको खुसी मेरा लगि उर्जा हा,’ पूजा भन्छिन्, ‘खेल समर्थकहरूले आजसम्म मलाई माया गरेर यहाँसम्म पुर्‍याउनुभएको छ। सबैले एकपटक फेरि मलाई भोट गरिदिनु होला। यसले अझै मिहिनेत गर्न प्रेरणा दिनेछ र त्यो प्रेरणाले सबैका लागि गर्व गर्ने मौका दिनेछु भन्ने विश्वास छ।’

प्रकाशित: १९ भाद्र २०८२ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App