७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपन उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल वेस्टर्न ओपनको २६औं संस्करणको उपाधि जितेका छन्।

पोखरामा भएको यो प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतिस्पर्धा हो। भुवनले सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे। शुक्रबार इभन पार ६९ खेलेका उनले समग्रमा तीन अन्डर २ सय ४ को स्कोर बटुले। उनको करियरको यो १४औं उपाधि हो। उपाधिसँगै भुवनले नगद एक लाख ७० हजार प्राप्त गरे। यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए। समग्रमा दुई अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए। चार अन्डर ६५ को कार्डमा उनले अन्तिम दिनको खेल पूरा गरे। उनले नगद १ लाख २५ हजार हात पारे।

एमेच्योर राहुल विश्वकर्माले चार अन्डर ६५ को स्कोरकार्ड बनाए। समग्रमा एक अन्डर २ सय ६ सहित तेस्रो भए। धरानका गल्फर शुक्रबहादुर राई समग्रमा दुई ओभर २ सय ९ सहित चौथो भए। उनले चार ओभर ७३ मा अन्तिम दिनको खेल सकाए। प्रोतर्फ तेस्रो भएका उनले नगद एक लाख प्राप्त गरे। जयराम श्रेष्ठले ६ ओभर ७५ मा अन्तिम दिनको खेल सकाए। उनी समग्रमा सात ओभर २ सय १४ सहित पाँचौं स्थानमा रहे। उनले ८२ हजार प्राप्त गरे। पोखराका घरेलु गल्फर भूबहादुर गुरुङ छैटौं भए। उनले समग्रमा ८ ओभर २ सय १५ स्कोर बनाए। उनले अन्तिम दिन तीन ओभर ७२ मा पूरा गरे। उनले नगद ७२ हजार पाए। समग्रमा १० ओभर २ सय १७ सहित भुवनकुमार रोक्का र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौं स्थान बाँडे।

भुवनले तीन ओभर ७२ र दिनेशले दुई अन्डर ६७ को स्कोर निकाले। उनीहरूले समान ६५ हजार प्राप्त गरे। तोरणविक्रम शाही नवौं हुँदै ५१ हजार पाए। समग्रमा उनी १२ ओभर २ सय १९ को कार्डमा रहे। उनले दुई ओभर ७१ मा खेल सकाए। रमेश अधिकारी र सुरेश तामाङ संयुक्त रूपमा दशौं भए। दुवै जना कुल १३ ओभर २ सय २० स्कोरमा रहे।

अन्तिम दिन रमेशले सात ओभर ७६ र सुरेशले ६ ओभर ७५ मा खेल सकाए। उनीहरूले ४४ हजार नगद पुरस्कार हात पारे। भुवनसँग अन्तिम १८ होलको खेल सकिँदा मात्र एक स्ट्रोकको अग्रता थियो तर शुक्र र जयरामले सुरूदेखि नै खेल बिगारेपछि भुवनलाई सहज भयो। छैटौं होलमा बोगी खेपेका उनले आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन पार ३४ मा सकाए।

यसपछि बाँकी नौ होलमा शुक्र र जयरामले टक्कर दिन सकेनन् तर सञ्जय लामाले चुनौती दिए। भुवनले ब्याक नाइन पनि इभन पार ३५ मा सकाउँदै एक स्ट्रोकको जित निकाल्न सफल भए। भुवनले दसौं र १३औं होलमा बर्डी तथा १२औं र १७औं होलमा समान एक सट खेर फाले। सञ्जयले फ्रन्ट नाइन एक अन्डर ३३ मा सकाए। उनले पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। दोस्रो र छैटाैं होलमा समान एक सट खेर फाले। ब्याक नाइनमा उनले पाँचवटा होलमा बर्डी प्रहार गरे। १०औं होलमा र यसपछि १४ देखि १७ होलसम्म लगातार चार बर्डी प्रहार गरे तर १२औं र १८औं होलको बोगीले ब्याक नाइन निन अन्डर ३२ मा पूरा गरे। एमेच्योर राहुलले सातौं होलको बोगीका विरुद्ध पहिलो र पाँचौं होलमा समान एक सट बचाए।

फ्रन्ट नाइन एक अन्डर ३३ खेले। यसपछि चार पारको १३औं होलमा इगलको सफलता प्राप्त गरेका उनले १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा १८औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फको उपाधि जिते। किसन परियारलाई २२ स्ट्रोकले हराए। किसन दोस्रो भए। उनले समग्रमा २१ ओभर २ सय २८ को नतिजामा प्रतियोगिता पूरा गरे।

सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले विजेतालाई पुरस्कृत गरेका थिए। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल र १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थान सम्मका प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे।  

प्रकाशित: ७ चैत्र २०८२ ०७:४७ शनिबार