सोमबार स्पेनिस फुटबलका दुई चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड भिड्दैछन्। बार्सिलोनाको स्पोटिफाइ क्याम्प नोउमा हुन लागेको बहुप्रतीक्षित एल क्लासिको खेल नेपाली समयअनुसार सोमबार बिहान १ः४५ बजेबाट सुरु हुनेछ।
यस खेललाई ४० वटा क्यामेराले खिच्ने भएका छन्। खेलमा दुवै टोलीका स्टार खेलाडी लामिन यामाल र किलियन एमबाप्पेमाथि विशेष ध्यान दिइनेछ।
बालोन डी’ओर अवार्डको विजेता घोषणा हुनुभन्दा एक दिनअघि हुने यस खेलमा उच्च प्रविधिको प्रयोग गर्दै दर्शकलाई मैदानका महत्त्वपूर्ण क्षणहरू विभिन्न कोणबाट देखाउने तयारी गरिएको छ।
स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभोको अनुसार बार्सिलोनाको क्याम्प नोउ रंगशालाभरि क्यामेरा जडान गरिनेछ।
खेलको प्रत्यक्ष प्रसारणलाई थप प्रभावकारी बनाउन अल्ट्रा हाई डेफिनिसन (यूएचडी) प्रविधि, स्लो मोसन रिप्ले र खेलाडीलाई पछ्याउने विशेष ट्र्याकिङ प्रविधिसमेत प्रयोग गरिनेछ।
किन प्रयोग गरिँदै छन् ४० क्यामेरा ?
स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाले बार्सिलोना र रियल म्याड्रिडसँग सम्बन्धित खेललाई ‘क्याटेगोरी ए’ अन्तर्गत राखेको छ। यस श्रेणीका खेलको टेलिभिजन प्रसारणका लागि कम्तीमा २२ वटा क्यामेरा आवश्यक पर्छन्।
तर एल क्लासिको र म्याड्रिड डर्बीजस्ता ठूला खेललाई ‘ए प्लस’ श्रेणीमा राखिन्छ। यस्ता खेलका लागि खेलको प्रकृति र महत्त्वअनुसार ३५ देखि ४० वटासम्म क्यामेरा प्रयोग गरिन्छ। क्यामेराको स्थान र दृश्य खिच्ने कोण पनि पहिले नै तय गरिएको योजनाअनुसार निर्धारण गरिन्छ।
खेलका विवादास्पद घटनामा रेफ्रीले गरेका निर्णयको समीक्षा गर्न उपलब्ध दृश्यहरू महत्त्वपूर्ण हुन्छन्। त्यसैले क्यामेराबाट प्राप्त तस्बिर तथा भिडियोहरू रेफ्रीहरूको प्राविधिक समिति र भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिसँग सम्बन्धित टोलीका लागि समेत उपयोगी हुन्छन्।
रियल म्याड्रिडको खेलमा उठेको थियो कभरेजमाथि प्रश्न
एल क्लासिकोमा क्यामेराको संख्या बढाउने तयारीलाई हालै रियल म्याड्रिड र सेभिल्लाबीचको खेलमा भएको विवादसँग पनि जोडेर हेरिएको छ।
उक्त खेलको २४औँ मिनेटमा रियल म्याड्रिडका मिडफिल्डर अर्दा गुलर र सेभिल्लाका पेक फर्नान्डेजबीच बल खेलभन्दा बाहिरको अवस्थामा भिडन्त भएको थियो। तर उक्त घटनाको स्पष्ट दृश्य उपलब्ध हुन सकेन।
खेलका क्रममा २६ वटा क्यामेरा प्रयोग गरिए पनि कुनै पनि क्यामेराबाट प्राप्त दृश्यले खेलाडीबीच भएको सम्पर्कको स्पष्ट पार्न सकेन।
यसले महत्त्वपूर्ण तथा विवादास्पद घटनाको समीक्षा गर्न टेलिभिजन कभरेजले पर्याप्त दृश्य उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने विषयमा फेरि बहस सुरु गराएको थियो।
गोल, खतरनाक आक्रमण र पेनाल्टी क्षेत्रका घटनामा विशेष ध्यान
सोमबारको खेलमा लामो दूरीसम्मका दृश्य खिच्न मिल्ने तथा सिनेमाई लेन्स जडित क्यामेरासमेत प्रयोग गरिने बताइएको छ। पूर्ण एचडीको तुलनामा उच्च गुणस्तरको ‘फोर के’ रिजोल्युसनमा दृश्य खिचिने भएकाले खेलका महत्त्वपूर्ण क्षणलाई अझ स्पष्ट रूपमा देखाउन सकिनेछ।
टेलिभिजन निर्देशकले खेलको अवस्थाअनुसार विभिन्न क्यामेराबाट प्राप्त दृश्य छनोट गर्न सक्नेछन्। विशेषगरी गोल, गोल गर्ने सम्भावना भएका खतरनाक आक्रमण र पेनाल्टी क्षेत्रभित्र खेलाडीबीच हुने टक्करका दृश्यलाई स्पष्ट रूपमा पुनः देखाउन सकिनेछ।
यसका साथै दुवै गोलपोस्टको पछाडि पनि क्यामेरा जडान गरिनेछ। ती क्यामेराले गोल गर्ने प्रयास, गोलरक्षकको बचाउ र गोलपोस्टनजिक हुने महत्त्वपूर्ण गतिविधिलाई फरक कोणबाट खिच्न सहयोग गर्नेछन्।
द्रुत गतिमा हुने गतिविधि खिच्न र त्यसलाई स्लो मोसनमा पुनः देखाउन मिल्ने उपकरणसमेत प्रयोग गरिनेछ। यसबाट दर्शकले खेलाडीको चाल, बलको दिशा र निर्णायक क्षणलाई अझ नजिकबाट बुझ्न सक्नेछन्।
एल क्लासिकोमा नयाँ प्रविधिको प्रयोग पहिलो पटक होइन
ला लिगाले एल क्लासिकोको प्रसारणलाई आकर्षक बनाउन यसअघि पनि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ।
सन् २०१७ मा भएको एल क्लासिकोका क्रममा क्रेनमा जडान गरिएका र हेलिकप्टरबाट सञ्चालन गरिएका क्यामेरासहित ४० वटा क्यामेरा प्रयोग गरिएको थियो।
त्यतिबेला लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका गतिविधिलाई विशेष रूपमा खिच्न स्लो मोसन क्यामेरासमेत प्रयोग गरिएको थियो।
उक्त खेलको छायांकन, निर्देशन र टेलिभिजन निर्माणमा ४०० भन्दा बढी विशेषज्ञ संलग्न थिए।
त्यसअघि सन् २०१६ मा भएको एल क्लासिकोमा ३६० डिग्री रिप्ले प्रविधिको प्रयोग गरिएको थियो। रंगशालाको विभिन्न स्थानमा राखिएका क्यामेराबाट प्राप्त दृश्यलाई एकीकृत गरी त्रिआयामिक दृश्य तयार पार्ने यो प्रविधिले निर्देशकलाई सामान्य क्यामेराबाट प्राप्त गर्न कठिन हुने भर्चुअल कोणबाट समेत खेल देखाउने सुविधा दिएको थियो।
पछि ला लिगाले ३८ वटा उच्च रिजोल्युसन क्यामेराबाट खिचिएका तस्बिर प्रयोग गरी स्टेरियोस्कोपिक दृश्य उत्पादन गर्ने प्रविधि विकास गरेको थियो।
यसबाट दर्शकले खेलाडीको नजिकै रहेको भर्चुअल स्थानबाट खेल हेरिरहेको अनुभव प्राप्त गर्न सक्थे।
समयक्रमसँगै हवाई क्यामेरा, ड्रोन, दृश्य प्रभाव र प्रत्यक्ष तथ्यांकको प्रयोगसमेत बढ्दै गएको छ। खेलको प्रकृति र रंगशालाको अवस्थाअनुसार विभिन्न समयमा ३२, ३४ र ३८ वटा क्यामेरा प्रयोग गरेर खेलको प्रसारण गरिएको छ।
यामाल र एमबाप्पेमाथि विशेष नजर
सोमबारको एल क्लासिकोमा बार्सिलोनाका युवा स्टार लामिन यामाल र रियल म्याड्रिडका किलियन एमबाप्पेमाथि विशेष ध्यान दिइनेछ। दुवै खेलाडीका गतिविधि नजिकबाट खिच्न विशेष कभरेजको व्यवस्था गरिने अपेक्षा गरिएको छ।
यी दुई स्टारको प्रदर्शनले खेलको नतिजामा कस्तो प्रभाव पार्छ भन्ने चासो समर्थकमा रहनेछ।
प्रकाशित: ७ कार्तिक २०८३ १२:१९ शनिबार





