९ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

बालोन डी’ओर २०२६ : यामाल, एमबाप्पे र केनमा कसले मार्ला बाजी ?

एआईको अनुमानमा यामाल अगाडि

फुटबल जगतकै प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी’ओर २०२६ को विजेता को बन्ला भन्ने चासो बढ्दै गएको छ। अवार्ड नजिकिँदै गर्दा स्पेनका लामिन यामाल, फ्रान्सका केलियन एमबाप्पे र इंग्ल्यान्डका ह्यारी केनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

लन्डनमा आयोजना हुने भव्य समारोहमा विजेताको नाम घोषणा गरिनेछ। बेलायतमा पहिलोपटक आयोजना हुन लागेको यस समारोहमा कसले बाजी मार्ला भन्ने विषय अहिले फुटबल समर्थक, खेलाडी र विश्लेषकबीच चर्चाको केन्द्रमा छ।

स्पेनका १९ वर्षीय युवा प्रतिभा यामाल र सन् २०१८ को विश्वकप विजेता फ्रान्सका एमबाप्पेले यस अवार्डका लागि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। अर्कोतर्फ, इंग्ल्यान्डका कप्तान केनले भने आफ्नो दाबेदारीबारे सार्वजनिक रूपमा खासै प्रचार गरेका छैनन्।

व्यक्तिगत प्रदर्शन, टोलीको सफलता र प्रमुख प्रतियोगितामा हासिल गरेको उपलब्धिका आधारमा यी तीन खेलाडीबीच रोचक प्रतिस्पर्धा देखिएको हो।

एआईको अनुमानमा यामाल अगाडि

फ्रान्सेली तथ्यांक विश्लेषण तथा एआई कम्पनी एभिसियाले सार्वजनिक गरेको अनुमानअनुसार यामाल बालोन डी’ओर २०२६ जित्ने सम्भावनामा सबैभन्दा अगाडि छन्।

एभिसियाको तथ्यांकअनुसार बार्सिलोनाका विंगर यामालले २०२५–२६ सिजनका उत्कृष्ट फुटबलरलाई प्रदान गरिने यो प्रतिष्ठित अवार्ड जित्ने सम्भावना २३ प्रतिशत छ।

त्यस्तै, जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर केन २१ प्रतिशत सम्भावनासहित दोस्रो स्थानमा छन्। रियल म्याड्रिडका एमबाप्पे भने १९ प्रतिशत सम्भावनासहित तेस्रो स्थानमा रहेका छन्।

सन् २०२४ का बालोन डी’ओर विजेता रोड्रीको सम्भावना पनि १९ प्रतिशत नै रहेको एभिसियाको अनुमान छ।

एभिसियाले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पनि आफ्नो अनुमानमा समेटेको छ। कम्पनीको प्रक्षेपणअनुसार मेस्सीले नवौँ पटक बालोन डी’ओर जित्ने सम्भावना १८ प्रतिशत छ।

एभिसियाले सन् २०२५ को बालोन डी’ओरका लागि शीर्ष पाँच दाबेदारको पहिचान सही गरेको दाबी गरेको छ। उक्त वर्ष फ्रान्सका उस्मान डेम्बेलेले अवार्ड जितेका थिए।

यद्यपि, एआईको अनुमानमा यामाल अगाडि रहे पनि सट्टेबाजहरूको आकलन भने फरक छ। सट्टेबजारमा केनलाई सबैभन्दा बलियो दाबेदार मानिएको छ। उनलाई अवार्ड जित्ने करिब ७० प्रतिशत सम्भावना दिइएको छ।

मेस्सीलाई अवार्ड दिनुपर्ने सिमियोनको तर्क

बालोन डी’ओरको दाबेदारीमा रहेका खेलाडीबारे विभिन्न खेलाडी तथा प्रशिक्षकले पनि आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमियोनले अर्जेन्टिनाका कप्तान मेस्सीलाई अवार्डका लागि योग्य ठानेका छन्। सिमियोनका अनुसार मेस्सीले आफ्नो उमेरमा पनि उच्चस्तरको प्रदर्शन गरेर आफूलाई अरू खेलाडीभन्दा फरक साबित गरेका छन्।

‘विश्वकपपछि पनि उनले आफ्नो उमेरमा असाधारण प्रदर्शन गरे। यसमा कुनै शंका छैन,’ सिमियोनले भने।

इटालीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मार्को माटेराजीले पनि मेस्सीको पक्षमा धारणा राखेका छन्। ‘यामालप्रति पूर्ण सम्मान छ। तर, मलाई लाग्छ, मेस्सीले ३८ वर्षको उमेरमा पनि आफू अरूभन्दा फरक स्तरमा रहेको प्रमाणित गरेका छन्,’ माटेराजीले भने।

मेस्सीले आफ्नो उमेरमा पनि देखाएको प्रदर्शनलाई आधार बनाएर उनलाई अवार्डको बलियो दाबेदार मान्नुपर्ने उनीहरूको तर्क छ।

केनको पक्षमा बेलिङ्घम, यामाललाई गोर्डनको समर्थन

इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले राष्ट्रिय टोलीका कप्तान केनलाई बालोन डी’ओर जित्न सक्ने खेलाडीका रूपमा समर्थन गरेका छन्।

बेलिङ्घमले केन आफ्नो खेलमा निकै मेहनत गर्ने र इमानदार खेलाडी भएकाले उनले पाउनुपर्ने बताए।

‘उनी यसका लागि निकै मेहनत गर्छन्। उनी इमानदार र परिश्रमी व्यक्ति हुन्,’ बेलिङ्घमले भने। केनले अवार्ड जित्न सक्ने सम्भावनाबारे उनले थपे, ‘यो पक्कै पनि सम्भव छ।’

यता, इंग्ल्यान्डकै अर्का अन्तर्राष्ट्रिय खेलाडी एन्थोनी गोर्डनले भने यामालको खुलेर प्रशंसा गरेका छन्।

गोर्डनका अनुसार यति कम उमेरमा यामालले हासिल गरेको सफलता असाधारण छ। ‘लामिनले यति सानो उमेरमा जे हासिल गरेका छन्, त्यो अविश्वसनीय छ। उनी जुन स्तरका खेलाडी हुन्, त्यो साँच्चिकै असाधारण छ। उनी बिल्कुलै फरक स्तरमा छन्,’ गोर्डनले भने।

एमबाप्पेले पनि आफ्ना समर्थक पाएका छन्। रियल म्याड्रिडका उनका सहकर्मी औरेलियन चौमेनीले फ्रान्सेली स्ट्राइकरले उत्कृष्ट सिजन बिताएको भन्दै उनको प्रशंसा गरेका छन्।

गोलको तथ्यांकमा एमबाप्पे र केनको बलियो दाबेदारी

व्यक्तिगत प्रदर्शन र गोलको तथ्यांकलाई आधार मान्दा एमबाप्पे र केनको दाबेदारी पनि उत्तिकै बलियो देखिन्छ।

एमबाप्पेले ला लिगामा २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन्। त्यस्तै, च्याम्पियन्स लिगमा १५ गोलसहित उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

उनले विश्वकपमा पनि गोल्डेन बुट जितेका छन्। विश्वकपमा १२ गोल गर्दै उनले प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्।

यस्ता व्यक्तिगत उपलब्धिले एमबाप्पेलाई बालोन डी’ओरको बलियो दाबेदार बनाएको छ।

केनको प्रदर्शन पनि कम प्रभावशाली छैन। उनले गत सिजन क्लब र राष्ट्रिय टोलीका लागि गरी कुल ७३ गोल गरेका थिए। सन् २०११–१२ को सिजनमा लियोनल मेस्सीले ८२ गोल गरेयता कुनै पनि खेलाडीले एक सिजनमा गरेको यो सबैभन्दा उच्च गोल संख्या भएको उल्लेख गरिएको छ।

यद्यपि, व्यक्तिगत प्रदर्शन उत्कृष्ट भए पनि प्रमुख उपाधि जित्न नसक्नु एमबाप्पे र केन दुवैका लागि चुनौती बनेको छ।

एमबाप्पेले क्लब वा राष्ट्रिय टोलीबाट प्रमुख उपाधि जित्न सकेनन्। केनले बायर्न म्युनिखबाट बुन्डेसलिगाको उपाधि जिते पनि इंग्ल्यान्डलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थानसम्म मात्रै पुर्‍याउन सके।

बालोन डी’ओरको दौडमा व्यक्तिगत तथ्यांकसँगै टोलीले जितेका प्रमुख उपाधिलाई पनि महत्त्व दिइने भएकाले यसले दुवै खेलाडीको दाबेदारीमा असर पार्न सक्छ।

यामाललाई उपाधिको फाइदा

एमबाप्पे र केनको तुलनामा यामालको पक्षमा टोलीगत सफलता बलियो आधार बनेको छ।

यामालले स्पेनसँग विश्वकप र बार्सिलोनासँग ला लिगाको उपाधि जितेको विवरणले उनको दाबेदारीलाई बलियो बनाएको छ। व्यक्तिगत तथ्यांकमा भने उनी एमबाप्पे र केनभन्दा पछि देखिएका छन्। चोटका कारण उनको सिजनसमेत प्रभावित भएको थियो।

तर, फुटबलमा व्यक्तिगत प्रदर्शनसँगै प्रमुख प्रतियोगितामा टोलीले हासिल गर्ने सफलतालाई पनि निर्णायक मानिन्छ। त्यसैले यामालको उपाधि यात्रामा टोलीगत उपलब्धिले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

पछिल्लो इतिहासलाई हेर्दा पनि प्रमुख प्रतियोगिताको उपाधि जित्नु बालोन डी’ओरको दौडमा महत्त्वपूर्ण आधार बनेको देखिन्छ।

यसअघि बालोन डी’ओर जितेका १९ खेलाडीमध्ये सम्मान प्राप्त गरेको वर्ष च्याम्पियन्स लिग, विश्वकप, युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिकामध्ये कुनै पनि उपाधि नजितेका खेलाडीको संख्या चार मात्रै रहेको तथ्यांक प्रस्तुत गरिएको छ।

इतिहास रच्ने अवसरमा यामाल

बालोन डी’ओर जित्न सके यामालले नयाँ इतिहास रच्नेछन्। उनी सबैभन्दा कम उमेरमा यो अवार्ड जित्ने खेलाडी बन्ने लक्ष्यमा छन्।

सन् १९९७ मा २१ वर्षको उमेरमा ब्राजिलका रोनाल्डोले बालोन डी’ओर जितेका थिए। यामालले अवार्ड जितेमा रोनाल्डोको कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा बालोन डी’ओर जित्ने खेलाडी बन्नेछन्।

तर, त्यसका लागि उनले एमबाप्पे र केनजस्ता अनुभवी तथा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीलाई पछि पार्नुपर्नेछ।

प्रकाशित: ९ कार्तिक २०८३ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App