४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
खेल

वैशाख १९ मा बाह्रखरी गल्फ

नवौं संस्करणको बाह्रखरी गल्फ प्रतियोगिता आगामी वैशाख १९ गते काठमाडौं हुने भएको छ।

बाह्रखरी मिडियाले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गल्फ प्रतियोगितासँगै इकोनोमिक सिम्पोजियम हुने जनाएको छ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले प्रतियोगिता र इकोनोमिक सिम्पोजियमबारे विस्तृत जानकारी दिएका थिए। नवौं संस्करणको गल्फ र आर्थिक परिसंवाद वैशाख १९ गते काठमाडौंमा आयोजना हुँदै छ। कुल १८ होलको गल्फ गोकर्ण गल्फ कोर्समा सञ्चालन हुनेछ। गल्फसँगसँगै आर्थिक परिसंवाद गरेर खेलकुद र अर्थतन्त्र सँगै लैजान खोजिएको उनले बताए। वैशाख १९ गते गोकर्ण गल्फ रिसोर्टमै प्रतियोगिता र इकोनोमिक सिम्पोजियम हुने उनले जानकारी दिए।

बाह्रखरी मिडियाको आयोजनामा हुने प्रतियोगितामा करिब एक सय गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता १८ होलमा सञ्चालन हुनेछ  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेताले गोल्डेन गल्फ बल पाउनेछ। प्रतियोगितामा सिनियर (६० वर्षमाथि) पुरुष र महिलातर्फ पनि प्रतिस्पर्धा हुनेछ। साथै, होल इन वान गर्ने खेलाडीले आकर्षक रूपमा गाडी पुरस्कार प्राप्त गर्नेछन्। लङ्गेस्ट ड्राइभ, ‘क्लोजेस्ट टु द पिन र मोस्ट बर्डिज विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले गल्फ पर्यटनलाई जोड्न सके आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। परिसंवादमा भारतका प्रखर प्रशासक अमिताभ कान्त वक्ताको रूपमा सहभागी हुनेछन् भने निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन्। वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

प्रकाशित: ४ वैशाख २०८३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App