चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो।
विराटनगरका लागि असलंकाले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे। शुभम रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रन जोडे।
ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए। अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाए। शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए। बसिर अहमद ६ रनमा अविजित रहे।
विराटनगर ७० रनमा एक विकेटको अवस्थामा हुँदा इमरान शेख रिटायर्ड हर्ट भएका थिए। त्यसपछि क्रिजमा आएका रन्जानेसँग मिलेर असलंकाले पाँचौँ विकेटका लागि ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे।
लुम्बिनीका लागि किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए। अभिशेषले ३ ओभरमा १५ रन खर्चिए भने ट्रम्पलम्यानले ४ ओभरमा ५२ रन दिए।
प्लेअफ सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ। लुम्बिनीसँग पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिनेछ।
प्रकाशित: २८ कार्तिक २०८३ १९:०० शनिबार





