२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

नेपालका बाढीपीडितको सहयोगमा एएस रोमाको विशेष पहल

इटालीको चर्चित फुटबल क्लब एएस रोमाले नेपालका बाढी तथा पहिरोपीडितका लागि सहयोग जुटाउन विशेष पहल गर्ने भएको छ।

युइएफए च्याम्पियन्स लिगअन्तर्गत फेनरबाह्चेविरुद्धको खेलमा रोमाका खेलाडीले ‘टुगेदर फर नेपाल’ अर्थात् ‘नेपालका लागि एकजुट’ सन्देश अंकित जर्सी लगाएर मैदान उत्रिएका छन्। गएराति सम्पन्न खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। 

टर्कीमा खेलकुद जर्सीमा सट्टेबाजी तथा जुवा कम्पनीको विज्ञापन राख्न प्रतिबन्ध रहेकाले रोमाले आफ्नो मुख्य प्रायोजकको लोगो राख्न नपाउने भएपछि नेपालप्रति ऐक्यबद्धता जनाउने यो अवसर प्रयोग गरेको हो। रोमाले विशेष रूपमा प्रयोग गरिने ती जर्सी लिलामी गर्ने र त्यसबाट प्राप्त रकम नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनामा खर्च गर्न डब्लुएफपीलाई उपलब्ध गराउने जनाएको छ।

यो महिना आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र पहिरोका कारण १ हजार ३०० भन्दा बढीको मृत्यु भएको र हजारौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ। रासुवा र नुवाकोटसहितका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

एएस रोमाले आफ्नो वेबसाइटमार्फत नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको सहयोगका लागि क्लब र डब्लुएफपीबीच सहकार्य भएको जनाएको छ।

यसअघि च्याम्पियन्स लिगका खेल सुरु हुँदा नेपालका बाढीपीडितको सम्झनामा प्रतियोगिताका सबै खेलमा एक मिनेट मौनधारण गरिएको छ। खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, अधिकारी र समर्थकहरूले बाढीपीडितप्रति सम्मान व्यक्त गरेका थिए। विभिन्न रंगशालाका स्क्रिनमा समेत नेपालका बाढीपीडितप्रति समर्थन जनाउने सन्देश प्रदर्शन गरिएको थियो।

इंग्ल्यान्डको प्रिमियर लिग क्लब आर्सनलले पनि आर्सनल फाउन्डेसन र सेभ द चिल्ड्रेनमार्फत नेपालमा बाढीपीडितका लागि राहत सहयोग गरिरहेको छ।

प्रकाशित: २६ भाद्र २०८३ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App