बर्नलीलाई १–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएपछि आर्सनलको प्रिमियर लिग जित्ने २२ वर्षको पर्खाइ समाप्त हुँदैछ।
गए राति भएको खेलमा काई हाभर्ट्जको एक मात्र गोलले आर्सनललाई जित दिलायो। ३७ औं मिनेटमा बुकायो साकाले कर्नरबाट उपलब्ध गराएको बलमा हाभर्ट्जले हेडरमार्फत गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए।
आर्सनलले जारी सिजनमा ‘सेट पिस’बाट सर्वाधिक गोल गर्दै कीर्तिमान समेत बनाइसकेको छ। जसअन्तर्गत हाभर्ट्जको यो गोल १९ औं गोल थियो।
गत महिना उपाधि होडमा पछ्याइरहेको म्यान्चेस्टर सिटीसँग पराजित भएपछि आर्सनलले पछिल्ला चार लिग खेलहरूमा लगातार जित निकाल्दै आएको छ।
यो जितपछि आर्सनलले ३७ खेलबाट ८२ अंक जोडेको छ। सिटीको ३६ खेलमा ७७ अंक रहेको छ।
अब आर्सनलले अन्तिम खेल मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने छ।
सिटीले भने आज मध्यरातमा बर्नमाउथसँग खेल्दैछ। आजको खेलमा सिटी पराजित भएमा वा बराबरीमा रोकिएमा आर्सनलले लिगको उपाधि जित्ने छ।
सिटीले यो खेल जितेमा लिग उपाधिको निर्णय एस्टन भिल्लासँगको खेलबाट हुनेछ। सिटीले एस्टन भिल्लासँग घरेलु मैदानमा मे २४मा खेल्नेछ।
प्रकाशित: ५ जेष्ठ २०८३ ०७:४८ मंगलबार





