२० वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

आर्मीलाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट उपाधि

बसिर अहमदको अलराउन्ड प्रदर्शनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

वीरगन्जमा शुक्रबार भएको फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जितसँगै तेस्रोपल्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको हो। आर्मीको जितमा बसिरले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। उनले दुई विकेट लिनुका साथै ४५ रनको योगदान पनि दिए। बसिर प्लेअर अफ दी फाइनल पनि भए। आर्मी यसअघि सन् २०१७ मा संयुक्त विजेता (नेपाल पुलिस क्लब) र सन् २०२१ मा विजेता भएको थियो। आठौं संस्करण भने आर्मी अपराजित रहँदै च्याम्पियन भयो। लिगचरणमा ९ मध्ये आर्मीले आठ खेल जितेको थियो। एक खेल भने वर्षाका कारण हुन सकेन। नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले खराब ब्याटिङ गर्‍यो।

सुदूरपश्चिमले एक सय ६२ रनको सामान्य लक्ष्य दियो। त्यो लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। सामान्य लक्ष्य पछ्याएको आर्मीको सुरुआत खराब रह्यो। आर्मीले पहिलो ओभरमा कप्तान विनोद भण्डारीलाई २ रन र तेस्रो ओभरमा भीम सार्कीलाई ४ रनमा नै गुमाउन पुग्यो। त्यसपछि अर्का ओपनर तृतराज दास र कुशल मल्लले इनिङ अगाडि बढाउने प्रयास गरे। तृतराज ३१ रन र कुशल १७ रन बनाएर पभेलियन फर्किए। १०.३ ओभरमा आर्मी ५६/४ को अवस्थामा थियो। तर, त्यसपछि बसिर र इमरान शेखले पाँचौं विकेटका लागि ९६ रनको बलियो इनिङ खेल्दै जित दिलाए। बसिर ४५ रनमा आउट हुँदा इमरान शेख ४६ रनमा अविजित रहे। बसिरले ५६ बलमा चार चौका प्रहार गरे।

इमरानले ४६ बलमा समान दुई चौका र छक्का हिर्काए। सुदूरपश्चिमको बलिङमा हेमन्त धामीले दुई तथा विकास आग्री, अशोक धामी र कप्तान शेर मल्लले समान एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा एक सय ६१ रनको सामान्य योगफलमै अलआउट हुन पुग्यो। शीर्ष पाँच ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए र सुदूरपश्चिमले बिर्सनलायक सुरुआत गर्‍यो। १०.३ ओभरमा सुदूरपश्चिम ३१/५ को नाजुक अवस्थामा थियो। त्यसपछिका तीन ब्याटर किरण ठगुन्ना, नारायण जोशी र अशोक धामीले इनिङ समाल्ने प्रयास गरे।

किरणले ४२ बलमा ३५ र नारायणले ३४ बलमा २९ रन बनाए। आठौं नम्बरमा ब्याटिङ गरेका अशोकले ४६ बलमा ४३ रन जोड्दै इनिङ समाले। हेमन्तले १६ रन जोड्दै सुदूरपश्चिमको इनिङ उकास्ने प्रयास गरे। आर्मीको बलिङमा आकाश चन्द र शाहब आलमले समान तीन तथा बसिरले दुई तथा कुशल मल्लले एक विकेट लिँदै सुदूरपश्चिमको इनिङ धराशयी बनाए। यस प्रतियोगितामा लिगका शीर्ष दुई स्थानमा रहँदै पहिलोपल्ट फाइनलमा पुगे पनि सुदूरपश्चिमले उपाधि भिडन्तमा खराब ब्याटिङ गर्‍यो। उपाधि जित्ने सुदूरपश्चिमको लक्ष्य पूरा हुन सकेन। लिगमा पनि सुदूरपश्चिम आर्मीसँग सात विकेटले पराजित भएको थियो।  

विजेता आर्मीले नगद १० लाख र उपविजेता सुदूरपश्चिमले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्। यसपल्ट प्रतियोगितामा एपिएफ, मधेस, नेपाल पुलिस क्लब र लुम्बिनी क्रमशः तेस्रोदेखि छैटौं स्थानमा रहँदै आगामी संस्करणमा हुने जय ट्रफी इलाइट कप (दुई दिवसीय) का लागि छनोट भए।

लुम्बिनीका सन्तोष उत्कृष्ट

लुम्बिनी प्रदेशका युवा क्रिकेटर सन्तोष यादव यस आठौं संस्करणको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएका छन्।

अलराउन्ड प्रदर्शन गरेका सन्तोष सर्वोत्कृष्ट खेलाडी हुँदा उनको टोली लुम्बिनी लिगमा छैटौं भएको थियो। यो सफलता पुलिसका दिनेश खरेलले पाउन सक्ने अनुमान गरिए पनि सन्तोष सफल भएका हुन्। सन्तोषले प्रतियोगितामा कुल ९ खेल खेल्दै २६५ रन बनाउनुका सथै २१ विकेट पनि लिएका थिए। उनी बलिङतर्फ सर्वाधिक विकेटकर्ताको सूचीमा चौथो र ब्याटिङतर्फ सर्वाधिक रनकर्ताको सूचीमा दसौं स्थानमा थिए। यस क्रममा उनले दुई अर्धशतकसहित ३३.१२ को औसतमा ब्याटिङ र ३.९२ को इकोनोमीमा बलिङ गरेका थिए। फाइनल खेलमा अलराउन्ड प्रदर्शन गरेका आर्मीका बसिर अहमद प्लेयर अफ द फाइनल भए।

यस प्रतियोगिता सुदूरपश्चिमका मध्यम गतिका बलर हेमन्त धामी उत्कृष्ट बलर र गण्डकी प्रदेशका अर्जुन कुमल उत्कृष्ट ब्याट्सम्यान घोषित भए। हेमन्तले उत्कृष्ट बलिङ गर्दै आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए। फाइनलमा पनि राम्रो प्रदर्शन गरेका हेमन्त उत्कृष्ट बलर भए। कुल १० खेलबाट २७ विकेट लिँदै हेमन्त यस प्रतियोगिताको सर्वाधिक विकेटकर्ताको सूचीमा रहे। दोस्रो स्थानका सन्दीप लामिछाने २५ विकेटसहित दोस्रो स्थानमा रहे। यस प्रतियोगिताका उत्कृष्ट ब्याटर अर्जुनले समान दुई शतक र अर्धशतकसहित कुल ५०४ रन जोडे। अर्जुन एकै संस्करणमा पाँच शतक पूरा गर्ने पहिलो खेलाडी बने। मधेस प्रदेशका आशिक बैठा उदीयमान खेलाडी भए।  

प्रकाशित: ५ वैशाख २०८३ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App