विभागीय टोली एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा आइतबार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। यससँगै एपिएफले १७ वटा क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा शीर्ष स्थानका लागि दूरी बढाउने अवसर गुमायो। खेल अवधिभर दुवै तर्फबाट राम्रा अवसर सिर्जना भए तर दुवै टोलीले गोल निकाल्न सकेनन् र अंक बाँडेका हुन्। खेलाडीको चोटका कारण एपिएफलाई समस्या पर्यो। सुमन श्रेष्ठ, सन्तोष खत्री र प्रदीप लामाजस्ता खेलाडी चोटका कारण अनुपस्थित थिए। चित्लाङविरुद्ध उनीहरूको अभाव स्पष्ट देखियो। एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले चोटका कारण सिनियर खेलाडी नहुँदा राम्रो नतिजा आउन नसकेको बताए।
‘चित्लाङ राम्रो टोली हो। यो टोलीविरुद्ध एक अंक पाउँदा खुसी छौं। चोटका कारण सिनियर खेलाडी नहुँदा घाटा भइरहेको छ। च्याम्पियनको दौडमा छौं र यस्तो नतिजाले आगामी दौड गाह्रो हुन्छ। खेलाडीहरूले पनि कुन समयमा कस्तो खेल्ने भन्ने बारे ध्यान दिनुपर्छ,’ प्रशिक्षक तामाङले भने।
पत्रकार सम्मेलनमा चित्लाङका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री भने उपस्थित भएनन्। चित्लाङको विदेशी खेलाडीको बलियो रक्षापंक्ति एपिएफले पार गर्न सकेन। तीन विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको चित्लाङ शीर्ष स्थानको दाबेदार एपिएफविरुद्ध अंक निकाल्न सफल भयो। एपिएफका विश्वास उदास प्लेअर अफ दी म्याच भए।
एपिएफले पछिल्ला चार खेलमा तेस्रोपल्ट बराबरीको नतिजा सामना गरेको हो। कान्छो विभागीय टोली एपिएफले लिगको शीर्ष स्थानमा दबदबा बनाइरहेको थियो तर पछिल्ला खेलमा लगातार अंक बाँडेपछि शीर्ष होडमा अग्रता लिन चुकेको छ।
समग्रमा भने एपिएफको चौथो बराबरी हो। ११ खेलबाट २५ अंक जोड्दै एपिएफ गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ। सातौं स्थानको टोलीसँग एपिएफको अन्तर पाँच अंक मात्र छ। त्यसैले एपिएफ शीर्ष स्थानको होडका लागि दबाब बनाउन चुकेको छ। यता, चित्लाङको जारी लिगमा यो पाँचौं बराबरी हो। एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलिरहेको चित्लाङले एक मात्र जित निकालेको छ।
उसले पुछारको टोली नव जनजागृतिविरुद्ध निकालेको हो। त्यसबाहेक बाँकी ११ खेलमा चित्लाङ जितविहीन छ। १२ खेलबाट चित्लाङ ८ अंक जोड्दै १३औं स्थानमा छ। चित्लाङसँगै शीर्ष डिभिजन टोली नेपाल पुलिस र सातदोबाटो युथ क्लबको पनि समान आठ अंक नै छ तर दुवैले दुई खेल कम खेलेका छन्।
चर्च ब्वाइजले अवसर गुमायो
दिनको अन्तिम खेलमा शीर्ष स्थानको दाबेदार चर्च ब्वाइज युनाइटेड ललितपुरे क्लब फ्रेन्ड्ससँग २–० ले पराजित हुन पुग्यो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको जितमा मासाया ताहारा र मौसम सुब्बाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका हुन्। दोस्रो हाफमा पनि चर्च ब्वाइजले गोल फर्काउन नसकेपछि जारी लिगमा दोस्रो हार बेहोर्यो। खेलको २८औं मिनेटमा मासायाले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। फ्रेन्ड्सले ४५औं मिनेटमा दोस्रो गोल गर्यो। आशिष चापागाईंको पासमा मौसम सुब्बाले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । यससँगै पहिलो हाफमा चर्च ब्वाइज २–० ले पछि पर्यो। शीर्ष स्थानको दाबेदार चर्च ब्वाइज दोस्रो हाफमा खेलमा फर्कने अनुमान गरिएको थियो तर फ्रेन्ड्सले चर्च ब्वाइजको योजना पूरा हुन दिएन। पुछारमा संघर्ष गरिरहेको फ्रेन्ड्सले चर्च ब्वाइजमा रोमाञ्चक जित निकाल्यो।
फ्रेन्ड्सको जितमा मौसम लुङ्गेली मगर प्लेअर अफ दी म्याच भए। जित हुँदा चर्च ब्वाइज लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिने थियो। १० खेलबाट चर्च ब्वाइज २२ अंकसहित गोलअन्तरको आधारमा चौथो स्थानमा छ। जुन समान खेलबाट शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लबभन्दा तीन अंकले पछि हो।
समान ११ खेलबाट एपिएफको पनि २५ अंक र प्लानिङ ब्वाइज युनाइटेडको २२ अंक छ। दुवै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। चर्च ब्वाइजमाथि जित निकालेको फ्रेन्ड्सले यो जितपछि ठूलो फड्को मारेको छ। १० खेलबाट फ्रेन्ड्स १२ अंकसहित ११औं स्थानमा उक्लिएको छ।
प्रकाशित: २ चैत्र २०८२ ०७:१६ सोमबार





