१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

एन्फा यु-१६ युथ लिग : शीर्षता होड बलियो बनाउँदै मच्छिन्द्र र पुलिस

शीर्ष दुई स्थानका मच्छिन्द्र र विभागीय टोली नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ लिगमा शीर्षताका लागि अग्रता बढाएका छन्।

लिगअन्तर्गत बिहीबार भएको आफ्नो २२औं खेलमा पुलिसले श्री भगवती क्लब र मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकाल्दै शीर्षता होड बलियो बनाएका हुन्। च्यासलस्थित च्यासल फुटबल स्टेडियममा मच्छिन्द्रले बिहीबार त्रिभुवन आर्मी क्लबमाथि ९–० को फराकिलो जित निकाल्दा साइरस डंगोल र विकास थापाले ह्याट्रिक पूरा गरे। पुलिसले श्रीभगवतीमाथि ५–१ को फराकिलो जित आत्मसात् गर्‍यो। उक्त  खेलमा पुलिसका लागि समीर कुमारले दुई तथा रिजनराज गौतम, दीपसन पाण्डे र अभिषेककुमार श्रेष्ठले समान एक गोल गरे। श्री भगवतीका अनिल गुरुङले ८८औं मिनेटमा गोल गर्दै हारको अन्तर छोट्याए।

एन्फा कम्प्लेक्समा पुलिस र च्यासलमा मच्छिन्द्र विपक्षीमाथि पूर्ण हाबी भए। लिगको अंकतालिकामा तल्लो क्रमको आर्मीविरुद्ध मच्छिन्द्रले गोलवर्षा गर्दै १५औं जित निकाल्यो। मच्छिन्द्रका साइरसले चार, विकासले तीन तथा राहुलकुमार योन्जन र करण धामीले समान एक गोल गरे। २२औं खेलबाट मच्छिन्द्रले ४९ अंक जोड्दै शीर्ष स्थानको लागि अग्रता पनि बढाएको छ। एक खेल कम खेलेका नेपाल पुलिस क्लब ४६ र मनाङ मर्स्याङ्दी ४५ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पहिलो हाफमा नै मच्छिन्द्र ६ गोल गर्दै पूर्ण हाबी भयो। १७औं मिनेटमा साइरसको गोलबाट मच्छिन्द्रले अग्रता लियो। त्यो गोलपछि आर्मी समालिने प्रयास गर्‍यो।

तर, २७औं मिनेटमा राहुलले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए। पाँच मिनेटपछि नै विकासले टोलीका लागि तेस्रो गोल गरे। पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा मच्छिन्द्रले लगातार तीन गोल गर्‍यो। ४०औं मिनेटमा करण, ४५औं मिनेटमा साइरस र पहिलो हाफको थप समयमा विकासले गोल गरेका हुन्। यससँगै पहिलो हाफमा नै मच्छिन्द्र ६–० ले अगाडि रह्यो। दोस्रो हाफमा आर्मीले सुधारिएको रक्षापंक्ति देखाएको थियो। तर, खेल सकिन तीन मिनेट बाँकी छँदा समालिन सकेन र तीन गोल बेहोर्‍यो। ८७औं मिनेटमा विकासले गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसको दुई मिनेटपछि साइरस पनि ह्याट्रिक पूरा गर्न सफल भए।

इन्जुरी समयमा उनले व्यक्तिगत चौथो गोल गरेपछि मच्छिन्द्रले आर्मीमाथि फराकिलो जित निकाल्यो। यो हारसँगै आर्मी २२ खेलबाट १४ अंक जोड्दै १२औं स्थानमा छ। आर्मीको यो १६औं हार पनि हो। अन्य खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफ क्लबमाथि २–० र चर्च ब्वाइजले संकटा क्लबमाथि १–० को साँघुरो जित निकाले। फ्रेन्ड्सका षडानन्द मास्की मगरले दुई गोल गरे। यो नै जितका लागि पर्याप्त बन्यो। चर्च ब्वाइजका विमल तामाङले गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

प्रकाशित: ४ पुस २०८२ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App