२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फा यु-१६ युथ लिग: चर्च ब्वाइजको छैटौं जित

चर्च ब्वाइज युनाइटेडले जारी एन्फा यु–१६ युथ लिगमा मंगलबार छैटौं जित निकाल्दा न्युरोड टिम (एनआरटी) ले पनि सुखद नतिजा आत्मसात् गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको दोस्रो खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० को कठिन जित निकाल्यो। त्यसअघि पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराएको थियो।

चर्च ब्वाइजको छैटौं जितमा सुशान थापामगरले उत्कृष्ट प्रदर्शन गरे। चर्च ब्वाइजका लागि सुशानसँगै सुनील दंगालले गोल गरे। यो जितसँगै चर्च ब्वाइज ११ खेलबाट २० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाको यो पाँचौं हार हो। समान ११ खेलबाट हिमालयन शेर्पा १४ अंकका साथ नवौं स्थानमा छ। चर्च ब्वाइजले दुवै गोल दोस्रो हाफमा गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ४९औं मिनेटमा सुशानको गोलमार्पmत चर्च ब्वाइजले अग्रता लिएको थियो। हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले रातो कार्ड बेहोरे। जारी लिगमा क्षेत्रीको यो तेस्रो रातो कार्ड हो। ६२औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै उनले मैदान छाडेका हुन्।

चर्च ब्वाइजका लागि सुनीलले ८०औं मिनेटमा गोल गर्दै २–० ले अगाडि बढाए। त्यसपछि थप गोल हुन सकेन र चर्च ब्वाइजले सहज जित निकाल्यो। अर्को खेलमा सुगम रानाले गरेको एक मात्र गोल एनआरटीको जितका लागि पर्याप्त भयो। यो एनआरटीको तेस्रो जित हो। जितसँगै ११ खेलबाट एनआरटी १२ अंकका साथ दशौं स्थानमा उक्लिएको छ। सातदोबाटोको भने यो ११औं हार हो।

अंकविहीन रहेको सातदोबाटो पुछारमा छ। सातदोबाटो युथले जारी सिजनमा ६२ गोल बेहोर्दा पाँच गोल मात्र गरेको छ। खेलको पहिलो हाफमा एक गोल गर्‍यो तर दोस्रो हाफमा भने गोल हुन सकेन।

सुगमले ४४औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र एनआरटीले सातदोबाटोमाथि १–० को साँघुरो जित निकाल्यो। दिनको तेस्रो खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबमाथि २–१ को पुनरागमन जित निकालेको छ। जितसँगै ११ खेलबाट जावलाखेल युथले १६ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। पराजित मच्छिन्द्र समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा छ।

एन्फा कम्प्लेक्स मैदानमा जावलाखेल युथको जितमा आर्यन नाथ र सुजन तामाङले गोल गरे। मच्छिन्द्रका लागि राहुलकुमार योन्जनले गोल गरे पनि आफ्नो टोलीको हार टार्न सकेनन्। खेलको ३७औं मिनेटमा राहुलको गोलमार्पmत मच्छिन्द्रले अग्रता लिएको थियो। ४८औं मिनेटमा आर्यनले जावलाखेललाई बराबरीमा ल्याए। इन्जुरी समयमा सुजनले गोल गर्दै जावलाखेललाई २–१ को रोमाञ्चक जित दिलाए।

प्रकाशित: २१ श्रावण २०८२ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App