३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फाको वार्षिक तालिका : ए डिभिजन लिगदेखि साफ महिला क्लब च्याम्पियनसिपसम्म

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष हुने घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गरेको छ।

मंगलबार एन्फाले यो वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो। जसमा ए डिभिजन लिगदेखि साफ महिला क्लब च्याम्पियनसिपसम्मको तालिका सार्वजनिक गरेको छ।

एन्फाका अनुसार आउँदो अक्टोबर ९ र १४ मा नेपाली राष्ट्रिय पुरुष टोलीले भियतनाममा एएफसी एसियन कप क्वालिफायर खेल्नेछ। त्यस्तै, नेपाली राष्ट्रिय महिला टोलीले अक्टोबर २६ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेल भारतको सिक्किममा आयोजना हुनेछ।

त्यस्तै, कार्तिक १६ देखि मंसिर ६ सम्म एन्फा प्रेसिडेन्ट लिग आयोजना हुनेछ। कार्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा एन्फा यू-१६ युथ लिगको आयोजना हुनेछ। एएफसी एसियन कप क्वालिफायरमा नेपाल र मलेसिया मंसिर २ मा आमने-सामने हुनेछ।

त्यस्तै, सहिद स्मारक ‘सी’ डिभिजन लिग मंसिर ४ देखि २८ सम्म एन्फा कम्प्लेक्समा आयोजना हुने तय भएको छ। यता, नेपाली राष्ट्रिय महिला फुटबल टोलीले नोभेम्बर २० देखि डिसेम्बर २ सम्म इन्डोनेसियामा त्रि-राष्ट्र महिला मैत्रीपूर्ण प्रतियोगिता खेल्नेछ। जसमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई खेल्नेछन्।

नेपालले दशरथ रंगशालामा ५ देखि २० डिसेम्बरसम्म साफ महिला क्लब च्याम्पियनसिपको आयोजना गर्नेछ। 

यता, मंसिर २६ देखि पुस २ सम्म ललित मेमोरियल यू-१८ युथ लिग हुनेछ, जसमा खेलहरू सबै एन्फा कम्प्लेक्समा हुनेछ।

त्यसपछि क्यालेन्डर अनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ सम्म छ महिना चल्नेछ। त्यसपछि पुस ११ देखि २२ सम्म एन्फा महिला च्याम्पियनसिप च्यासल रंगशालमा आयोजना हुनेछ।

सहिद मेमोरियल महिला लिग माघ ९ देखि फागुन ५ सम्म हुनेछ। त्यस्तै, सहिद मेमोरियल महिला सुपर लिग फागुन ९ देखि १६ सम्म हुनेछ।

क्यालेन्डरमा समेटिए अनुसार नेपाल र लाओसबीच हुने एएफसी एसियन कप क्वालिफायर्स चैत १७ मा नेपालमा आयोजना हुनेछ।

प्रकाशित: ७ आश्विन २०८२ ११:५७ मंगलबार