अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।
ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार नेम्बाङ र राईलाई जनही पाँच लाख धरौटीमा छोड्न आदेश जारी गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्रमान जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध खेलमिलोमतो, भ्रष्टाचार तथा अन्य अनियमितताको विषयमाथिको अनुसन्धानमा दोषी देखिएको भन्दै मुद्दा दायर गरेको थियो। जोशी र पाण्डे अदालतको आदेशअनुसार धरौटी बुझाएर रिहा भइसकेका थिए। अध्यक्ष नेम्वाङ र महासचिव राई बुधबार अदालतमा उपस्थित भएका थिए। अदालतले तोकेको जनही ५ लाख रुपैयाँ धरौटी बुझाएर एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई बुधबार नै रिहा भइसकेका छन्।
नेपाली फुटबल दशकौंदेखि आन्तरिक द्वन्द्वमा फस्दै आएको छ। त्यसको निरन्तरता जारी रहँदा असार ११ गतेदेखि नेपाल अहिले विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा छ। तेस्रो पक्ष (सरकार) को हस्तक्षेप भएको भन्दै फिफाले एन्फामाथि निलम्बन गरेको हो। फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ अनुसार तेस्रो पक्ष (सरकार) को हस्तक्षेपसँग सम्बन्धित आफ्नो विधान उल्लंघन भएको विश्व फुटबल महासंघको ठहर थियो। त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत चैत १३ गते एन्फाको वर्तमान कार्यसमितिले अर्ली इलेक्सन गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो। उक्त निर्वाचन अवैधानिक भन्दै राखेपले एन्फामाथि निलम्बनसम्म ग¥यो।
त्यहाँबाट उत्पन्न सरकार र एन्फाबिचको विवादले फिफाको निलम्बनसम्म पु¥याएको हो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनुपरेको थियो भने सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा ताला लागेको थियो। उक्त ताला बुधबार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिले खोलेको थियो। उनी पंकजविक्रम नेम्बाङको कार्यसमितिबाट कारबाहीमा परेका वरिष्ठ उपाध्यक्ष हुन्।
प्रकाशित: १२ कार्तिक २०८३ ०६:२८ बिहीबार




-600x400.jpg)
-600x400.jpg)