४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

साम्बाको उपचारबारे एन्फा: क्लब जिम्मेवार भए पनि कतार पठाउन पहल भइरहेको छ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि आफूहरू पन्छिन नखोजेको स्पष्ट पारेको छ।

साम्बाले उपचारमा एन्फाले सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेपछि सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एन्फाले उनको उपचारका लागि कतार फुटबल संघ र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जनाएको हो।

एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा व्यावसायिक क्लब फुटबलमा खेलिरहँदा घाइते भएमा उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको उल्लेख छ।

एन्फाले भनेको छ, ‘साम्बाको हकमा उहाँको क्लब (वेलिङटन फोनिक्स) ले न्युजिल्याण्डको अस्पतालमा उपचारको पहल गरेको तर उहाँले कतारमा गई उपचार गराउने इच्छा राखेकोले एन्फाले यसको लागि सबै प्रयास र पहलहरू गरि नै राखेको जानकारी गराउँदछौं।’

एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र अध्यक्ष पंकज विक्रम नेम्वाङले व्यक्तिगत तवरबाट समेत पटक-पटक ताकेता गरिरहेको जनाएको छ।

त्यस्तै, साम्बाको आग्रहबमोजिम एन्फाले सोमबार नै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै आवश्यक सहजीकरणका लागि अनुरोध गरेको छ। एन्फाले मन्त्रालयलाई लेखएको पत्रमा स्वास्थ्य उपचार तथा शल्यक्रिया गर्नका लागि मन्त्रालयमार्फत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरिएको छ।

एन्फाले खेलाडीको स्वास्थ्यप्रति आफू गम्भीर रहेको भन्दै विगतका उदाहरणहरू पनि पेश गरेको छ। राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगर लगायतको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्यहोरेको र उनीहरू हाल उत्कृष्ट प्रदर्शन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

एन्फाले साम्बाको सम्बन्धित क्लबसँग पत्राचार गरी सम्झौताबारे अध्ययन गर्ने र उनको उपचारमा कुनै कमी आउन नदिन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १९:४६ सोमबार