बिहीबार दिउँसो नेपाली सामाजिक सञ्जालमा एउटै विषयले चर्चा पायो, त्यो हो एन्फा पुनः विवादमा पर्नु।
सो दिन अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विदेशी खेलाडी समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गर्यो। त्यो एउटा पत्रले बिहीबार पूरै दिन नेपाली खेलकुद जगतलाई नै तरंगित बनायो।
पटक–पटक विवादमा पर्ने एन्फा यसपटक यति ठूलो विवादमा पर्यो कि उसले जारी पुरुष तथा महिला राष्ट्रिय लिग नै रोक्नुपर्ने स्थिति सिर्जना भयो।
एन्फा अहिले चुनाव, सहिद स्मारक ए डिभिजन लिगका क्लबहरूको रिले अनशन लगायतका विषयले विवादमा परेको छ। बिहीबार दुवैतर्फका खेलहरू अध्यागमन विभागले पत्र पठाएपछि लिग स्थगित गरिएको एन्फाका सिइओ इन्द्रमान तुलाधारले बताए।
विभागको पत्रले किन भयो लिग स्थगित?
अध्यागमन विभागले विदेशी खेलाडीको भिसाबारे तुरुन्तै छानबिन हुने बिहीबार जारी पत्रमा उल्लेख गरेको थियो। एन्फाले सो पत्र पाएपछि चलिरहेको पुरुषतर्फको राष्ट्रिय लिग तत्काल स्थगित गर्यो।
पुरुष लिग स्थगित भएको केही घण्टाभित्रै एन्फाले महिला लिग पनि स्थगित गर्यो। पुरुषतर्फको लिग भने पुस ३० गतेबाट सुरु भएको हो, तर महिलातर्फ लिग सुरु भएको दोस्रो दिनमै स्थगित हुन पुग्यो।
विभागले बिहीबारदेखि नै अनुगमन प्रारम्भ भएको र स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अघि बढाइने प्रेस विज्ञप्तिमा जनाएको छ।
एन्फाले लिग सञ्चालनका लागि गत पुस ३० गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको थियो। उक्त पत्रमार्फत जानकारी गराउँदै एन्फाले लिगको स्वीकृति लिन खोजेको थियो। तर राखेपका एक सदस्यका अनुसार, सो समयमा आवश्यक कागजात पूरा नभएकाले माघ ४ गते एन्फालाई कागजात अपुग भएको भन्दै पत्र पठाइएको थियो।
“हामीलाई एन्फाबाट पुस ३० गते लिगबारे पत्र आएको थियो, तर कागजपत्र अपुग भएको भन्दै हामीले पत्र पठाएका थियौँ। त्यसपछि मात्र उहाँहरूले पुनः आवश्यक कागजात पठाउनुभएको थियो,” ती सदस्यले नागरिक दैनिकसँग भने।
नेपालको अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार, भिसा प्राप्त गर्ने विदेशीले सोही उद्देश्यबाहेक अन्य काम गर्न नपाउने व्यवस्था छ।
हाल स्थगित लिगमा पुरुषतर्फ १७ टोली र महिलातर्फ ९ टोली सहभागी थिए। अधिकांश क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गरेका छन्, जसमा विभिन्न देशका खेलाडी समावेश छन्।
एन्फाका सिइओ इन्द्रमान तुलाधारले विदेशी खेलाडीको भिसासम्बन्धी प्रक्रिया डेढ महिना अघि नै खेलकुद मन्त्रालय र राखेपलाई बुझाएको बताए। “हामीले पत्र प्राप्त भएपछि दुवै लिग स्थगित गर्यौँ। विदेशी खेलाडीका विषयमा प्रक्रिया डेढ महिना अगाडिदेखि नै अघि बढाइसकेका छौँ,” उनले भने, “तर मन्त्रालय र राखेपले स्वीकृति दिएका छैनन्।”
यस विवादको सबैभन्दा ठूलो मार नेपाली खेलाडीहरूमा परेको छ। पछिल्लो समय नेपालको फुटबल गतिविधि सुस्त रहेको अवस्थामा घरेलु फुटबल बल्ल पुनः सुरु भएको थियो। यस्तोमा खेलाडीहरू आफ्नै मैदानमा खेलिरहेका थिए, तर लिग स्थगित भएपछि उनीहरू अन्योलमा परेका छन्।
यी सबै प्रक्रिया कहिले पूरा हुने टुंगो छैन, त्यसैले खेलाडीहरू मैदानबाहिर बस्न बाध्य भएका छन्।
चुनावी सरगर्मी र क्लबहरूको रिले अनशन
गत सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू एन्फासँग छलफल गर्न बैठक बसेका थिए। तर बैठक असफल भएपछि २२ क्लबहरू एन्फा मुख्यालयमा रिले अनशनमा बसेका छन्।
केही दिनअघि नेपाल फुटबल खेलाडी संघले ए डिभिजन लिग नभएको भन्दै एन्फामा तालाबन्दी गरेको थियो। पछि भएको वार्तापछि सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो।
तर क्लबहरूले आफूहरूलाई जानकारी नदिई लिगको मिति तय गरिएको भन्दै सोमबार पत्रकार सम्मेलनमार्फत ७ बुँदे माग अघि सारेका थिए। वार्ता असफल भएपछि उनीहरू धर्ना र रिले अनशनमा बसेका हुन्।
एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाले हतारमा लिगको मिति तय गरेको बताएका थिए। “एन्फाले हतारमा मिति तय गर्दा क्लबहरू अप्ठ्यारोमा परेका छन्। यति छोटो समयमा स्पोन्सरशिपलगायत सबै पक्ष मिलाउन कठिन हुन्छ,” उनले भने।
त्यसयता क्लबहरू अझै एन्फा गेटमै रिले अनशनमा छन्। यससँगै एन्फा चुनावको विषयमा पनि विवादमा तानिएको छ। आउँदो चैत १३ गते झापामा निर्वाचन गर्ने तयारी भइरहेको छ।
बिहीबार बेलुका राखेपले एन्फालाई पत्र लेख्दै चुनाव स्थगित गर्न निर्देशन दिएको छ। यसअघि पनि राखेपले पटक–पटक एन्फालाई सचेत गराउँदै आएको थियो।
राखेपले निर्वाचनसम्बन्धी सबै प्रक्रिया स्थगित गरी पत्र प्राप्त भएको मितिले तीन दिनभित्र लिखित जानकारी दिन निर्देशन दिएको छ। तर एन्फा भने आफ्नो निर्णयमा अडिग देखिएको छ।
प्रकाशित: ६ चैत्र २०८२ १५:३६ शुक्रबार





