नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन फर्किएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० करिअरको ऐतिहासिक कोशेढुङ्गा पार गरेको अवसरमा खेलअघि उनलाई ‘१०००० ड्रे रस’ लेखिएको विशेष जर्सी प्रदान गरेर सम्मान गरिएको थियो।
तर, ब्याटिङमा भने उनले कुनै कमाल देखाउन सकेनन्। विराटनगर किंग्सका लागि ब्याटिङ गर्न आएका रसेल ५ बलमा ३ रन मात्र बनाएर शाहको बलमा जहानदाद खानद्वारा क्याच आउट भए।
रसेलको सस्तो बहिर्गमनसँगै काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विराटनगर किंग्स चरम संकटमा फसेको छ। विराटनगरले १२ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ५० रन बनाउन सकेको छ।
हाल क्रिजमा अनुभवी एन्जेलो म्याथ्युज ११ रन तथा रूपेश सिंह ९ रन बनाएर खेलिरहेका छन्।
यसअघि इमरान शेख, नारायण जोशी र शुभम रन्जाने शून्य रनमा आउट भएका थिए भने बसिर अहमदले १०, लोकेश बमले ६ र सेहान जयसूर्याले ५ रन मात्र जोड्न सके।
प्रकाशित: १९ कार्तिक २०८३ १८:१८ बिहीबार




-600x400.jpg)
