सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्। उनले जनवरी ९ मा अस्ट्रेलियाकी स्काइ फाल्जोनसँग प्रतिस्पर्धा गर्दै आफ्नो एकीकृत विश्व उपाधि रक्षा गर्नेछिन्। उक्त खेललाई आयोजकले ‘द लास्ट वाक’ नाम दिएको छ।
मोस्ट भ्यालुएबल प्रमोसन्सका अनुसार ३८ वर्षीया सेरानोले पोर्टो रिकोको सान हुआनस्थित कोलिसेओ डे पोर्टो रिकोमा विश्व बक्सिङ संगठन (डब्लूबीओ) र विश्व बक्सिङ संघ (डब्लूबीए) को फेदरवेट उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछिन्।
सेरानोले व्यावसायिक बक्सिङमा ५० जित, चार हार र एक बराबरीको नतिजा निकालेकी छन्। उनका नाममा ३२ नकआउट जित छन्। उनी महिला बक्सिङमा सबैभन्दा धेरै नकआउट जितको कीर्तिमान बनाउने लक्ष्यमा पनि छिन्। उक्त कीर्तिमानमा उनको अमेरिकी बक्सर क्रिस्टी मार्टिनसँग संयुक्त साझेदारी छ।
‘बक्सिङ मेरो जीवन रह्यो। यसले मलाई र मेरो परिवारलाई यस्तो यात्रामा लैजाला भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ,’ सेरानोले भनिन्।
महिला बक्सिङले पहिचानका लागि संघर्ष गरिरहेको समयदेखि न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा मुख्य प्रतिस्पर्धा गर्ने अवस्थासम्म आइपुग्नु आफ्नो करिअरको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताइन्। उनले आगामी पुस्ताका महिला बक्सरका लागि अवसरको ढोका खोल्न सकेकोमा गर्वसमेत व्यक्त गरिन्।
सेरानोले सन् २०२२ मा आयरल्यान्डकी केटी टेलरसँग प्रतिस्पर्धा गर्दै इतिहास रचेकी थिइन्। उनीहरू म्याडिसन स्क्वायर गार्डेनमा मुख्य प्रतिस्पर्धा गर्ने पहिलो महिला बक्सर बनेका थिए। महिला बक्सिङको चर्चित प्रतिस्पर्धाका रूपमा रहेको उनीहरूको भिडन्त तीन खेलसम्म पुगेको थियो। सन् २०२५ मा भएको तेस्रो खेलमा टेलरले बहुमत निर्णायकको निर्णयका आधारमा जित हासिल गरेकी थिइन्।
सात फरक तौल समूहमा विश्व उपाधि जितेर गिनिज वर्ल्ड रेकर्ड बनाएकी सेरानो महिला बक्सिङमा समानताको पक्षमा आवाज उठाउने प्रमुख खेलाडीमध्ये एक हुन्। सन् २०२३ मा उनले महिला बक्सिङको पहिलो एकीकृत विश्व च्याम्पियनसिपमा १२ राउन्डसम्म प्रतिस्पर्धा गरेकी थिइन्, जहाँ प्रत्येक राउन्ड तीन मिनेटको थियो। समान नियमको आफ्नो प्रतिबद्धता कायम राख्न उनले पछि स्वेच्छाले विश्व बक्सिङ परिषद् (डब्लूबीसी) को उपाधि त्यागेकी थिइन्।
मोस्ट भ्यालुएबल प्रमोसन्सका संस्थापक नाकिसा बिदारियन र जेक पलले सेरानोको अन्तिम खेल उनको ऐतिहासिक करिअरको उत्सव हुने बताएका छन्। उनीहरूले सेरानोले बक्सिङमा पुर्याएको योगदान आगामी पुस्ताका महिला खेलाडीका लागि प्रेरणा बनिरहने उल्लेख गरेका छन्।
सेरानोकी प्रतिस्पर्धी फाल्जोन पनि ३८ वर्षकी हुन्। उनको व्यावसायिक रेकर्ड १२ जित र दुई हारको छ। उनले सात खेल नकआउटमार्फत जितेकी छन्।
प्रकाशित: १२ कार्तिक २०८३ ०९:३४ बिहीबार




-600x400.jpg)
