आयोजक भ्याली पब्लिकका तीन टोली नै १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।
भंगालस्थित घरेलु कोर्टमा भएको प्रतियोगितामा बिहीबार भ्याली पब्लिकका गल्र्सका दुई र सिनियर ब्वाइजको एक टोली क्वार्टरफाइनलमा पुगेका हुन्। गर्ल्सको प्रतिस्पर्धामा भ्याली पब्लिक ‘बी’ ले सत्यसाईलाई २१–२० को झिनो अन्तरले पराजित गर्यो। जितमा सानीमाया तामाङले १० अंक योगदान गरिन्।
दृष्य गुरुङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई २५–१७ ले हरायो। सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिलालाई ६७–५० ले हरायो। विजेताका अशोक विश्वकर्माले ३१ स्कोर गरे। सोही स्पर्धामा बागमतीले स्कोलर्स होमलाई ४९–३८ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनायो।
बागमतीका आर्यन श्रेष्ठले २१ अंक जोडे। सिनियर गर्ल्सको अन्य खेलमा त्रिज्योतिले वेदव्यासलाई २५–१६ तथा बागमतीले एन्जल्स हार्ट नेसनल स्कुललाई १९–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
त्रिज्योतिकी प्रिस्ना तामाङले १० तथा बागमतीकी डिकी शेर्पाले ९ अंक जोडे। जुनियर ब्वाइजमा भने भ्याली पब्लिक चुक्यो। पारामाउन्ट एकेडेमीले भ्याली पब्लिकमाथि २१–१५ को जित दर्ता गर्दै क्वार्टरफाइनल यात्रा तय गर्यो।
प्रकाशित: २६ मंसिर २०८२ ०९:३८ शुक्रबार


-600x400.jpg)


