स्पेनविरुद्ध शुक्रबार लस एन्जलसमा हुने विश्वकप क्वार्टरफाइनलअघि बेल्जियम सही समयमा उत्कृष्ट लयमा पुगेको आशा गरिएको छ ।
रुडी गार्सियाको टोली बेल्जियम समूह ‘जी’ को विजेता बने पनि प्रदर्शन पूर्ण रूपमा विश्वसनीय थिएन। अन्तिम ३२ को खेलमा सेनेगलविरुद्ध अतिरिक्त समयमा उत्कृष्ट पुनरागमन (३–२) गर्दै बेल्जियम अगाडि बढेको हो। गत मंगलबार अन्तिम १६ मा भने युरोपेली टोली बेल्जियमको सहआयोजक अमेरिकामाथि प्रभावशाली (४–१ को जित) प्रदर्शन रह्यो। अमेरिकाका लागि फोलारिन बालोगुन खेल्न पाउने वा नपाउने विषयमा खेलअघि निकै विवाद चले। त्यो खेलमा बालोगुन रातो कार्डका कारण प्रतिबन्धमा थिए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि फिफाले बेल्जियमसँगको खेलअघि प्रतिबन्ध फुकुवा गरिदियो। तथापि बेल्जियमले मैदानमा उत्कृष्ट प्रदर्शनमार्पmत त्यसको जबाफ दियो ।
चाल्र्स डे केटेलाएरले दुई गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका हान्स भानाकेन र रोमेलु लुकाकुले समान एक गोल थपे। यस विश्वकपमा लगातार तीन खेलमा गोल गर्ने मार्क विल्मोट्स (२००२) पछि दोस्रो बेल्जियन खेलाडी बनेका लुकाकु यस खेलमा पनि सुरुआती टोलीबाहिर रहने सम्भावना छ। तीनवटै गोल लुकाकुले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि गरेका हुन्। विश्वकपको एउटै संस्करणमा बेन्चबाट आएर चार गोल गरेका क्यामरुनका रोजर मिल्ला (१९९०) मात्र उनीभन्दा अगाडि छन्। लुकाकुको उत्कृष्ट गोल गर्ने लयले बेल्जियमको समग्र आक्रमण पनि झल्काउँछ। यस विश्वकपमा बेल्जियमको सट रूपान्तरण दर १२.१ प्रतिशत छ, जुन सन् १९६६ यताकै तथ्यांकअनुसार दोस्रो उत्कृष्ट प्रदर्शन हो।
यसअघि सन् २०१८ को रसिया विश्वकपमा बेल्जियमको सट रूपान्तरण दर १५.२ प्रतिशत थियो। गार्सियाको टोलीले यसपटक अवसर सिर्जना गर्ने क्रममा पनि प्रभावशाली प्रदर्शन गरिरहेको छ। पाँच खेलमा कुल १०७ प्रहार गर्दै प्रतिखेल औसत २१.४ सट प्रहार गरेको बेल्जियम सन् १९७० को विश्वकपपछि यस सूचकमा आफ्नो दोस्रो उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्यति बेला उनीहरूले प्रतिखेल २४ सट प्रहार गरेका छन्। यद्यपि बेल्जियमको आक्रमण निकै प्रभावकारी देखिए पनि लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनको रक्षापंक्ति पार गर्नु निकै कठिन चुनौती हुनेछ। किनकि स्पेनले सोमबार विश्वकपको दाबेदार मानिएको पोर्चुगलमाथिको जितले प्रमाणित गरिसकेको छ ।
त्यो खेलमा स्पेनले १–० को जित निकाल्दा लगातार छैटौं क्लिनसिट राख्यो। जुन विश्वकप इतिहासमै नयाँ कीर्तिमान हो। ‘ला रोजा’ ले विश्वकपमा लगातार १० घन्टा ९ मिनेटसम्म कुनै गोल खाएको छैन। यसबाहेक यस संस्करणमा स्पेनले प्रतिखेल औसत अपेक्षित गोलविरुद्ध ०.३० मात्र अनुमति दिएको छ, जुन विश्वकप इतिहासमा कुनै पनि टोलीले एउटै संस्करणमा कायम गरेको सबैभन्दा उत्कृष्ट रक्षात्मक तथ्यांक हो। पोर्चुगलविरुद्ध ९१औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेका थिए। यही गोलले स्पेनलाई विश्वकपको छैटौं क्वार्टरफाइनलमा पु¥याएको हो। सन् १९३४ देखि २००२ सम्म स्पेन चार क्वार्टरफाइनलमा पराजित भएको इतिहास छ ।
सन् २०१० मा पाराग्वेलाई १–० ले हराउँदै सेमिफाइनल पुगेको स्पेनले अन्ततः त्यही संस्करणको उपाधि जितेको थियो। सन् २०१० मा स्पेनले विश्वकप जित्दा लामिन यामाल तीन वर्षका थिए। यसपटक स्पेनले इतिहास दोहो¥याउने लक्ष्य पूरा गर्न उनीबाट ठूलो अपेक्षा गरिएको छ। बार्सिलोनाका युवा विङ्गर यामालले यस विश्वकपमा १७ सफल ड्रिबल पूरा गरेका छन्। सन् १९६६ यता विश्वकपमा किशोर खेलाडीमध्ये जर्मनीका जमाल मुसियालाले २०२२ मा १९ र फ्रान्सका किलियन एमबाप्पेले २०१८ मा २२ सफल ड्रिबल गरेका थिए। यी दुईपछि यामाल तेस्रो स्थानमा छन्। यामालको पछाडि मिडफिल्डमा रोड्री पनि उत्तिकै प्रभावशाली देखिन्छन्। यस विश्वकपमा ८० वटा ‘लाइन ब्रेकिङ पास’ रोड्रीको नाममा छ। जुन सन् २०१० यता स्पेनका खेलाडीमध्ये सबैभन्दा धेरै हो ।
सन् २०१० मा जेरार्ड पिकेले ८६, जाभीले ८९ र जाबी अलोन्सोले १२६ वटा यस्ता पास दिएका थिए। यामाल, रोड्री र बलियो रक्षापंक्तिका कारण डे ला फुएन्ते सेमिफाइनलमा पुग्ने अनुमान गरिएको छ। उनको प्रशिक्षणमा स्पेनले हालसम्म खेलेका सबै ६ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका नकआउट जितेको तथ्यांक छ। युरोपेली राष्ट्रका प्रशिक्षकमध्ये पहिलो सात नकआउट खेल लगातार जित्ने उपलब्धि दुई प्रशिक्षकको नाममा छ। इटालीका भिट्टोरियो पोज्जोले सन् १९३४ देखि १९३८ सम्म पहिलो आठ नकआउट खेल जितेका थिए। सन् २०१० देखि २०१२ सम्म लगातार सात खेल जितेको तंथ्याक स्पेनका भिसेन्टे डेल बोस्केको नाममा छ। तर बेल्जियमविरुद्ध भने स्पेन एकपटक असफल भएको इतिहास पनि छ।
सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा बेल्जियमले पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै सेमिफाइनल पुगेको थियो। यसपटक कसले बाजी मार्ला भन्ने चासो छ। यी दुई टोली सन् २०१६ सेप्टेम्बरपछि पहिलोपटक आमनेसामने हुँदै छन्। त्यतिबेला डेविड सिल्भाको दुई गोलमा स्पेनले ब्रसेल्समा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमलाई २–० ले हराएको थियो। समग्रमा हेर्दा स्पेन बेल्जियमविरुद्ध बलियो देखिन्छ। पछिल्ला ११ वटा खेलले पनि त्यही भन्छ, जहाँ स्पेन अपराजित छ। सन् १९८० को युरोपियन च्याम्पियनसिपमा २–१ ले पराजित भएपछि स्पेनले बेल्जियमविरुद्ध ९ खेल जितेको छ। दुई खेल बराबरीमा टुंगिएका छन्। बेल्जियमका लागि अर्को चिन्ताको विषय पनि छ।
स्पेनले आफ्ना पछिल्ला पाँच खेलमा समग्र १३–१ गोलअन्तरले जित निकालेको छ। यी दुई राष्ट्रबिच विश्वकपमा यो तेस्रो भेट हुनेछ भने क्वार्टरफाइनलमा दोस्रो हो। सन् १९८६ मा १–१ को बराबरीनपछि बेल्जियमले पेनाल्टी सुटआउटमार्पmत जित निकालेको थियो। त्यसअघि सन् १९९० को समूहचरणमा भने स्पेनले बेल्जियमलाई २–१ ले पराजित गरेको इतिहास छ। अप्टाको सुपरकम्प्युटरले स्पेनलाई स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ। खेलअघि गरिएको २५ हजार सिमुलेसनमध्ये ५९.३ प्रतिशतमा स्पेनले निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने आकलन छ। बेल्जियमको १८.३ प्रतिशत देखिएको छ। २२.४ प्रतिशत सिमुलेसनमा खेल बराबरी हुने अनुमान गरिएको छ।
प्रकाशित: २६ असार २०८३ ०९:४८ शुक्रबार





