बुधबार आइसिसी टी-२० विश्वकप एसिया छनोटका लागि नेपाल र ओमान आमनेसामने हुँदै थिए। एक अर्कालाई हराएर विश्वकपको सिढिँ चढ्ने दुवै टोलीको चाहाना थियो।
तर, खेल सुरु हुनु अगावै मैदान बाहिरको एक नतिजाले दुवै टोलीको हातमा विश्वकपको टिकट थमाइदियो। युएईले सामोआलाई हराएपछि यो खेल अब मात्र विश्वकप छनोटका लागि रहेन।
अब खेल थियो, सर्वोच्चताको लडाइँको। भाग्यले होइन, शक्तिले विश्वकप पुगेका हौं भनेर प्रमाणित गर्ने अवसरको।
यही अठोटका साथ मैदानमा उत्रिएको नेपालले घरेलु टोली ओमानलाई कुनै मौका दिएन। उच्च मनोबलका साथ प्रस्तुत भएको नेपालले ओमानमाथि सानदार जित दर्ता गर्यो।
ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओमानलाई उसकै घरेलु मैदानमा ३८ रनले स्तब्ध बनाइदियो।
यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो अजेय यात्रालाई कायमै राख्दै उपाधिमाथिको बलियो दाबेदारी प्रस्तुत गरेको छ।
खेलपछि कप्तान रोहित पौडेलको अनुहारमा विश्वकप छनोटको खुसीभन्दा उपाधिको भोक बढी देखिन्थ्यो। खेलपछि कप्तान पौडेलले विश्वकपमा छनोट हुनु सुखद् भए पनि अब टोलीको एकमात्र लक्ष्य अपराजित रहँदै प्रतियोगिताको उपाधि जित्नु रहेको बताए।
‘हामी एक अर्कालाई हराएरै विश्वकप पुग्न चाहन्थ्यौं। त्यो पहिले नै भयो, तर हाम्रो लक्ष्य अझै सकिएको छैन। हाम्रो नजर अब ट्रफीमा छ।’ उनले भनेका थिए।
त्यसैगरी, टोलीका अनुभवी खेलाडी सोमपाल कामीले विश्वकपमा छनोट हुँदा सम्पूर्ण नेपाली क्रिकेटप्रेमीलाई खुसी दिन सकेकोमा गर्व महसुस भएको सुनाए।
कामीले भने, ‘नेपाली क्रिकेटप्रेमीलाई खुसी दिन सक्यौं, यो हाम्रो लागि गर्वको क्षण हो। तर हाम्रो काम सकिएको छैन। अब हाम्रो एकमात्र लक्ष्य भनेको ट्रफी उचालेरै नेपाल फर्कनु हो।’
लामो र कठिन तयारीपछि प्रतियोगितामा अपराजित रहेको नेपाल अब उपाधिबाट मात्र एक खेल टाढा छ। शुक्रबार सामोआलाई पराजित गर्न सके नेपालले विश्वकपको टिकट मात्र होइन, आइसिसी टी-२० विश्वकप एसिया छनोटको एकमात्र अजेय च्याम्पियन बनेर इतिहास रच्नेछ।
प्रकाशित: ३० आश्विन २०८२ १४:३१ बिहीबार





