नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको छ। छायांकनको व्यस्त तालिकाबीच स्वास्थ्यमा समस्या देखिएपछि गरिएको चिकित्सकीय परीक्षणमा उनको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएको थियो।
स्वास्थ्य समस्या देखिएसँगै निर्माण टोली केही समय अन्योलमा परेको थियो। चिकित्सकहरूको सल्लाहअनुसार तत्काल शल्यक्रिया आवश्यक भएपछि उपचारका लागि भारत जाने विकल्पबारे पनि छलफल भएको थियो। तर अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया भएको कलाकार तथा निर्देशक दीपक गिरीले जनकारी दिए।
शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल दीपाश्री निरौलाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको भनाइ छ। दीपाश्री अहिले सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको र चिकित्सकको निगरानीमा स्वास्थ्य लाभ गरिरहेकी छन्।
सामाजिक सञ्जालमा दीपकले लेखेका छन्, 'भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, हाल उहॅा अआइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, आशीर्वाद दिने दर्शक तथा शुभचिन्तकहरू, उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ धन्यवाद ! जय पशुपतिनाथ!!'
प्रकाशित: २८ असार २०८३ १६:१७ आइतबार





